Pages

Tuesday, 30 June 2015

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी): प्रेस विज्ञप्ती

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)
केन्द्रीय कार्यालय

शंखमूल, काठमाडौं
(स्थापितः २००७)
मिति ः २०७२ असार १५ गते
प्रेस विज्ञप्ती
धान नेपाली जनताले उत्पादन गर्ने मुख्य बाली हो । धान, चामल र धानजन्य कृषि उत्पादनहरु नेपाली जनताको मुख्य खाद्यान्न हो । देशको जनसंख्याको दुई तिहाइभन्दा धेरै कृषिमा आश्रित रहेकोले धानले नेपाली जनताको जनजीवन र जीविकामा ठूलो महत्व राख्छ । धानको उत्पादनले नेपालको कुल गार्हस्थ उत्पादनमा ठूलो योगदान गर्छ । धानमा भएको उत्पादन बृद्धिको अनुपातले राष्ट्रिय अर्थतन्त्रको बृद्धिदरलाई समेत प्रभावित गर्न सक्ने क्षमता राख्ने हुनाले नेपालको राष्ट्रिय अर्थतन्त्रमा धानको अत्यन्तै ठूलो भूमिका छ । हाम्रो समाजका अधिकांश सामाजिक, धार्मिक तथा साँस्कृतिक क्रियाकलापहरुमा धान आवश्यक पर्छ । समग्रमा भन्नुपर्दा धान नेपालीहरुको जीवन र जीविकाको साथै आर्थिक, सामाजिक र साँस्कृतिक धरोहर हो । त्यति मात्र नभई, संसारमा हुने कुल धान उत्पादनको ९० प्रतिशत उत्पादन र खपत एसियामा हुने गरेको छ । नेपालमा जस्तै एसियाका जनताको जीवनमा पनि धानको बहुआयामिक महत्व छ ।
यो फराकिलो र बहुआयामिक महत्वलाई बुझेर आज साम्राज्यवादीहरु र बहुराष्ट्रिय निगमहरुले धानमाथि गिद्धेदृष्टि लगाएका छन् । उनीहरुले धानको बिउलाई तथा बिउका जातहरुलाई निजीकरण गर्ने, वर्णसंकर बनाउने, जेनेटिक इञ्जिनियरिङ्ग गर्ने, प्याटेन्ट गर्ने, किसानहरुले घरमा बिउ राख्न नपाउने र नसक्ने खालको उत्पादन विधि अपनाउने गरेका छन् । सताव्दीऔंदेखि किसानहरुले उत्पादन, विकास, प्रजनन्, पुनरुत्पादन, संरक्षण र सम्बद्र्धन गरी जोगाएका धानका जातहरु क्रमिक रुपमा ध्वस्त गरिंदैछ । नेपालमा विगतमा १०,००० भन्दा धेरै धानका जातहरु रहकोमा नवउदारवादी हरित क्रान्तिले नाफाखोर बहुराष्ट्रिय निगमहरु, विदेशी बिउ कम्पनीहरु र तिनका दलालहरुको कारणले हाल आएर केवल एक सयको हाराहारीमा मात्र उपयोग र उत्पादनमा छन् । यसले धानको जैविक विविधतामाथिको पुँजिवादी हमला र साम्राज्यवादी अतिक्रमणलाई पुष्टि गरेको छ । जसको परिणामस्वरुप आज धान खतरामा परेको छ ।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) नेपालका सम्पूर्ण गरीब, शोषित, पीडित, उत्पीडित, देशभक्त, न्यायप्रेमी तथा अग्रगामी उत्पादक किसानहरुको साझा, जुझारु, क्रान्तिकारी र नेतृत्वदायी संगठन भएकोले आज २०७२ असार १५ गते १२ औं राष्ट्रिय धान दिवस तथा असार १५ र दहि–चिउरा खाने दिनको रुपमा परम्परागत रुपमा मनाईंदै आएको असार १५ को उपलक्ष्यमा नेपालका सम्पूर्ण धान उत्पादन किसानहरु, धान–चामल र धानजन्य कृषि उपजका उपभोगकर्ताहरुलाई नेपाली जनताको मुख्य आहार, अर्थतन्त्रको महत्वपूर्ण अंग र नेपालीहरुको सामाजिक एवं साँस्कृतिक धरोहरको रुपमा रहेका धानमाथि भइरहेको नवउदारवादी तथा साम्राज्यवादी हमलाको प्ररिोध गर्न र विशिष्ट गुणयुक्त, उच्च उत्पादन भएका, विशेष भौगालिक र सामाजिक पहिचानसँग जोडिएका धानका जातहरु र तिनको जैविक विविधताको रक्षा, विकास र सम्बद्र्धन गर्दै बिउसम्प्रभु नेपालको दिशामा अगाडि बढ्न हार्दिक आग्रह गर्दछौं । गत बैशाख १२ गते आएको विनाशकारी भूकम्प र तत्पश्चात आएका पराकम्पनहरुको कारणले ल्याएका विभिन्न प्रभावहरु र प्रतिकूलताको बाबजुद पनि धानको उत्पादन नघट्ने, बरु बढ्ने गरी धानको उत्पादन, पुनरुत्पादन, प्रजनन, बाली व्यवस्थापन, संरक्षण र भण्डारण गर्दै नेपालको बिउसम्प्रभुता र खाद्यसम्प्रभुताको पक्षमा डटेर अगाडि बढ्न यसै विज्ञप्ती मार्फत हार्दिक अनुरोध गर्दछौं । त्यस दिशामा हाम्रो संगठनले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।
हार्दिक क्रान्तिकारी अभिवादन सहित ।

चित्र बहादुर श्रेष्ठ
अध्यक्ष

No comments: