Pages

Wednesday, 22 January 2014

सुन्दर छ एमाओवादी भविष्य: नहेन्द्र खड्का

किन सुन्दर छ एमाओवादीको भविष्य ?
–नहेन्द्र खड्का
एमाओवादीका विरोधीहरु मात्तिएको हेर्दा र केही एमाओवादी नेताहरुको रोदन–क्रन्दन हेर्दा यस्तो लाग्छ कि एमाओवादी पुरै सिद्धियो, अब उसको कुनै औकात र औचित्य छैन । त्यसमाथि एमाओवादीका अध्यक्ष क. प्रचण्डको बारेमा पार्टीभित्र र बाहिरका ‘बाह्रमासे विरोधी’हरुको टिप्पणी सुन्दा र सामाजिक सञ्जालहरुमा अभिव्यक्त भनाई हेर्दा यस्तो भ्रम देखिन्छ, मानौं अब प्रचण्ड नेतै रहेनन्, उनी केही गर्न योग्य र सक्षम छैनन् । के यो सत्य हो त ? यो सत्य होइन ।
वास्तविकता हेरौं न । के काँग्रेसले दस वर्षे महान जनयुद्ध लडेको एमाओवादीको ठाउँ लिन सक्छ ? के एमाले तत्कालै नेपाली कम्युनिष्ट आन्दोलनको ‘मूलप्रवाह’ बन्न सक्छ ? के वैद्य माओवादी स्वघोषित ‘कम्युनिष्ट केन्द्र’ बन्न सक्छ ? के कुनै एमाओवादी वा संसदवादी नेताहरुले क. प्रचण्डको ठाउँ लिन सक्छन् ? तत्क्षणमा त्यस्तो कुनै संभावना देखिँदैन । 
‘तथ्यको आधारमा सत्य खोज्नु’ मालेमावादको वैज्ञानिकता हो । सत्य के हो भने एमाओवादी र प्रचण्डको यो हार क्षणिक र प्रतिक्रियात्मक परिणाम मात्रै हो । यो पराजयले एमाओवादीका केही थान नेताहरुको सभासद् र मन्त्री–मन्त्राणी हुने रहरमा ‘चिसो पानी’ खन्याइदिए तापनि दीर्घकालीन हिसाबले धेरै फाइदा गर्नेछ । त्यसलाई पुष्टि गर्ने निम्न तथ्यहरु छन् ।

१. समग्र युद्ध बाँकी छ ः 
यो चुनाव लँडाईंको एउटा मोर्चा मात्रै थियो, समग्र युद्ध त वर्गसंघर्ष हो । एमाओवादीले लँडाईंको एउटा मोर्चा हारेको हो, समग्र युद्ध बाँकी छ ।
सबैभन्दा ठूलो पार्टी भएपछि भटाभट जनपक्षीय कामहरु गर्दै जानुपर्ने एमाओवादीले आफूलाई स्थायी सत्ताधारी सम्झेर आवश्यकता भन्दा धेरै लचक भयो र वर्गसंघर्षको पाटो बिर्सेर ‘कथित’ सहमतिको नाममा काँग्रेस–एमालेका प्रतिक्रियावादी मागहरु पुरा गरिदियो । जनतामा गएन । आफ्ना कुरा जनता समक्ष राख्न सकेन । झुठा आरेपहरुको खण्डन गरेन । अत्यन्तै ‘डिफेन्सिभ’ भएर आफूले नगरेका गल्तिहरुको समेत माफी माग्यो । 
काँग्रेस–एमाले संसदीय संघर्षका च्याम्पियन थिए, एमाओवादीका गल्तिमा टेकेर चुनाव जिते । एमाओवादी वर्गसंघर्षको च्याम्पियन हो । यो पराजयले उसलाई – सत्ता र कर्मचारीतन्त्र के हो ? चुनाव के हो ? जनता के हो ? वर्गीय पक्षधरता के हो ? कसका कुरा सुन्ने ? कसलाई खुशी पार्ने र कसलाई गोद्ने ? यी सबै कुरा सिकाएको छ । उसले बिर्सिएको आफ्नो वर्ग र वर्गसंघर्षलाई पुनः सम्झाई दिएको छ । त्यसैले अब उसले समग्र युद्ध जित्नेछ ।

२. नयाँ ढंगको एमाओवादी ः
विगतमा एमाओवादीमा समग्र युद्ध जितिसकेको भ्रम र विजयको अहंकार थियो । एकले अर्कोलाई पटक्कै नगन्ने, पार्टी भन्दा गुट बलियो बनाउन खोज्ने, संस्थागत भन्दा व्यक्तिगत निर्णय हुने, बिचार भन्दा निकटता हेर्ने र वर्गहित भन्दा व्यक्तिगत स्वार्थ हेर्ने बानीको बिकास हुँदै थियो । संगठन र जनसंगठन निर्माण र परिचालन थिएन । उसले आफू विरुद्ध षड्यन्त्र हुन सक्ने र पराजित हुन सकिने कुरा कहिल्यै सोचेन । आवश्यक पूर्वतयारीको अभाव थियो । लाखौंको संख्यामा आधारभूत वर्गको मतदाता नामावली छुटेको थियो । लाखौं समर्थकहरु विदेशिएका थिए । चुनावमा सेना सँधै परिचालित हुन्थ्यो, तर कसरी र केको लागि ? मतलबै गरिएन । 
अहिले जनता र दुश्मनले एकैपटक ‘अगुल्टोले हानेको’ एमाओवादी ‘बिजुली चम्कँदा’ पनि गहिरिएर सोच्ने भएको छ । त्यसैले अब एमाओवादी नयाँ ढंगको कम्युनिष्ट पार्टी बन्ने छ र विजयको शिखर चढ्नेछ ।

३. प्रतिक्रियात्मक परिणाम ः
यो चुनावमा एमाओवादीले हा¥यो । तर के काँग्रेस–एमालेहरु होनाहारका असल, राष्ट्रभक्त, क्रान्तिकारी र जनप्रिय भएर यो चुनाव जितेका हुन् त ? के एमाओवादी पराजयमा वैद्यहरुको जीत छ त ? त्यस्तो होइन । 
दस वर्षे महान जनयुद्ध लडेको र २४० वर्षे शाही राजतन्त्रलाई गल्र्याम्म ढलाएको एमाओवादीबाट जनताले धेरै ठूलो अपेक्षा गरेका थिए । एमाओवादी नेताहरु त्यसमा खरो उत्रन सकेनन् । जनयुद्ध लडेको ठूलो सैन्य पंक्ति कथित राष्ट्रिय सहमतिको नाममा अपमानित हुन पुग्यो । अयोग्यता र चेक प्रकरणले ‘आगोमा घ्यु’ थप्यो । सहिद परिवार, अपांग र घाइतेहरुले आफू अवहेलित भएको ठाने । वाईसिएल नचाहिँदाको ‘ठाँडो’ बन्यो । ठूला नेताले विप्पा, लगानी बोर्ड र ४० वर्षे विकासको खाका कोर्दै गर्दा आधारभूत वर्गका जनता भने दुई छाक खान नपुग्ने चरम गरीबी र उत्पीडनमा प्रताडित बनिरहे । 
शीर्ष नेताहरु समेत क्रान्ति पूरा भएको सम्झेर भागवण्डाको भ्रममा परेको बेला जनता पनि भ्रमित भए र भागदाबी गर्दै आफैलाई प्रश्न गर्न थाले – ‘यो क्रान्ति र एमाओवादी पार्टीले मलाई के दियो ?’ । गणतन्त्र आए पनि आफ्नो जीवन र जीविकामा कुनै भिन्नता पाएनन् । त्यही मेसोमा चुनाव आयो । चुनावमा काँग्रेस–एमाले र अरु प्रतिगामीहरु पैसा, आश्वासन र एमाओवादी प्रतिको घृणाको पोको बोकेर जनतामा गए, जनताले आक्रोशमा भोट त्यतै खन्याई दिए । 
यो चुनावमा जनताले देखाएको आक्रोश अत्यन्तै माया गर्ने प्रेमीले आफ्नी प्रेमिकालाई रिसको झोंकमा कुटे जस्तै हो । जब प्रेमिका रुँदै ‘मलाई किन कुट्यौ ?’ भन्दै लाडिएर प्रेमीको छातीमा मुन्टो घुसार्छे, तब प्रेमीले माफी माग्दै आफ्नी मायालुलाई अझ धेरै माया गर्न थाल्छ । अब एमाओवादी पनि जनतासँग जोडिनेछ र आफ्नो वर्गको आक्रोशलाई मत्थर पार्दै उनीहरुसँगको अन्तरविरोध हल गर्नेछ र नयाँ वर्गप्रेम जन्मनेछ । किनकि एमाओवादी र जनता बीचको सम्बन्ध माछा–पानीको सम्बन्ध हो । एमाओवादीले जनतालाई र जनताले हजारौं योद्धाहरुको बलिदानबाट बनेको एमाओवादीलाई राम्ररी चिनेका छन् । तिनले एक अर्कालाई बिर्सेका होलान्, तर घृणा गरेका छैनन् । ती एक अर्काका पूरक हुन् र एक बिना अर्को अधुरा छन् ।

४. प्रचण्डको पुनरागमन ः
शुरुमा क. प्रचण्डको नाम ‘प्रचण्ड’ नभई ‘विश्वास’ थियो । उनले पार्टीभित्र मूल नेतृत्व र पार्टी पंक्तिको विश्वास जिते । त्यसपछि उनी ‘निर्माण’ बनेर विभिन्न पार्टी तथा धाराहरुको बीचमा एकता कायम गर्दै देशभर पार्टी निर्माण गरे । जनयुद्धभर उनी ‘प्रचण्ड’ रहे । तर शान्तिकालमा आइसकेपछि उनी ‘प्रचण्डपथ’ समेत त्यागेर पुनः सबैको विश्वास जित्ने ‘विश्वास’ र एउटै कम्युनिष्ट केन्द्र तथा नयाँ नेपाल बनाउने ‘निर्माण’ बन्न खोजे । त्यसमा धेरै सफल पनि भए । अब ‘प्रचण्ड’को पुनरागमन हुनेछ । त्यो पनि ‘रुपान्तरित प्रचण्ड’को रुपमा, जसको उनले छनक दिइसकेका छन् । 
एउटा नेपाली लोकोक्ति छ – ‘बाघको मुख खाए पनि रातै, नखाए पनि रातै’ । त्यस्तै हुन्, कला र विज्ञानले निपूर्ण प्रचण्ड । उनी बराबरको नेता काँग्रेस, एमाले, एमाओवादी वा अरु कुनै पार्टीमा छैन । उनी ‘टाला’ होइनन्, नम्बरी ‘हिङ्ग’ हुन् । ‘फुर्ती गर्ने’ सबैको हुति र बुद्धि हिजोदेखि आजसम्म जनताले देखिसकेका छन् । लेनिनलाई उदृत गर्दै उनैले पटक पटक बताए जस्तै यसपटक जमिनमा आइपुगे पनि एमाओवादी र उनी स्वयं धेरै माथिसम्म उड्न सक्ने ‘चील’ हुन् । २०४८ सालको चुनावमा ९ सिट ल्याएको माओवादीलाई २०५२ हुँदै यहाँसम्म ल्याई पुराउँदा उनले त्यसको पुष्टि गरिसकेका छन् । आज पनि उनले चाहँदा सबैभन्दा ठूलो पार्टी काँग्रेस वा दोश्रो ठूलो पार्टी एमालेलाई बाहिर राखेर बाँकी सबै दलको सरकार बनाइदिन सक्छन् । त्यसैले आज पनि प्रचण्ड ‘किंगमेकर’ हुन्, फाल्तु ‘जोकर’ होइनन् ।
क. प्रचण्ड रातारात मिडियाले बनाइदिएका नेता होइनन् । उनी विदेशी पैसामा बेचिने ‘डलरमणि’ होइनन् । उनले हाँकेको जनयुद्ध र जनआन्दोलन कुनै ‘केटाकेटीको खेल’ थिएन । उनले पार्टी नेतृत्व सम्हालेदेखि आजसम्म धेरै उतारचढाव भोगेका छन् । ‘सुतेको’ प्रचण्डका जुँगा उखेल्न कस्सिनेहरुले ‘ब्युँझेको’ प्रचण्डदेखि होसियार भएकै राम्रो हुन्छ किनकि उनी ‘खरायो’ होइनन्, ‘सिंह’ हुन् त्यो पनि घाइते । 

५. काँग्रेस –एमालेको अन्तिम भोज ः 
साँच्चै १२ वर्ष ‘ढुंग्रो’मा राखे पनि बरु ‘ढुंग्रो’ बांगिन्छ, तर काँग्रेस–एमालेको ‘पुच्छर’ सोझिँदैन । उनीहरुका हर्कतले आज पनि त्यही भन्छ । ‘कुकुरले हड्डिकोलागि’ गरे जस्तै सत्ताकोलागि झिना झपटी गर्ने तिनको ‘नानीदेखिको बानी’ हो, र त्यो छुट्दैन । यो चुनावमा तिनले खर्चेको करोडौं रुपैयाँ उठाउन सरकारमा गएर ब्रम्हलुट नगरी सुखै छैन । भ्रष्टाचार र काँग्रेस–एमालेको नङ–मासुको सम्बन्ध छ ।
एमाओवादीले संविधान सभा एवं संसद मार्फत माथिबाट हस्तक्षेप र पार्टी तथा जनसंगठन परिचालन गरेर तलबाट संघर्ष गर्दै जनताको पक्षमा काम गर्न सक्दा काँग्रेस–एमालेको लागि यो नै ‘अन्तिम भोज’ हो ।

६. एमाओवादीको भविष्य ः 
चुनावमा एमाओवादी विरुद्ध एक भएका विभिन्न पक्षका आ–आफ्नै वर्ग र स्वार्थहरु छन् । तिनका व्यवहारले तिनैलाई सिध्याउँछन् । अब काँग्रेस–एमालेले कस्तो संविधान र संघीयता बनाउँछन् ? पहिचानको समस्या कसरी हल गर्छन् ? जिल्लैपिच्छे बाँडेका प्रदेशको राजधानी के गर्छन् ? ‘बाछी’को नाममा एक भोट खाएको ‘गाछी’ले ‘हिन्दू’ राज्य दिन्छ ? कमल थापाले खुलासा गरे जस्तै राजतन्त्र फर्काउने शर्तमा काँग्रेस–एमालेले बुझेका पैसा के गर्छन् ?
कुनै कार्यदिशा नै नभएको काँग्रेसले २००८ सालदेखि आजसम्म देश र जनताको पक्षमा के ग¥यो र आज गर्छ ? वर्गीय पक्षधरता, वर्ग संघर्ष, सर्वहारावर्गको अधिनायकत्व र निरन्तर क्रान्तिको सिद्धान्त त्यागेर प्रतिक्रियावादीहरुको पिछलग्गु बनेको एमाले कसरी कम्युनिष्ट आन्दोलनको ‘मूलप्रबाह’ बन्न सक्छ ? विभिन्न कारणहरुले (कारण नखोलौं) काँग्रेस–एमालेलाई भोट माग्दै हिंडेका वैद्य माओवादीहरुले तिनै काँग्रेस–एमालेको सरकारको विरुद्धमा जनयुद्ध वा जनविद्रोह गर्ने नैतिक बल कहाँबाट ‘आयात’ गर्छन् ? हिजो एमाओवादीलाई कम्युनिष्ट केन्द्र मान्दै पार्टीमा आएका इमान्दार र लामो संघर्षको इतिहास भएकाहरुलाई समेत ‘चैते’ र ‘खान आएका’ भन्ने ‘विप्लव’ जीहरु कसरी नेपालको ‘कम्युनिष्ट केन्द्र’ बन्छन् र पार्टीको विकास तथा बिस्तार गर्छन् ? 
यी प्रश्नहरुको समाधान ‘भिन्नै धातुले बनेका’ एमाओवादी र क. प्रचण्डले मात्रै दिन सक्छन् । त्यसैले अहिले पनि एमाओवादी नेपाली कम्युनिष्ट आन्दोलनको मूलप्रबाह र नेतृत्व केन्द्र हो ।

र, अन्त्यमा ः
एमाओवादीको भविष्य सुन्दर छ । क. प्रचण्डदेखि तलैसम्मका नेता–कार्यकर्ताले वर्गदुश्मनलाई वीर अमरसिँह थापाले झैं ‘म सिँहको डमरु हुँ, सिनो खाने कुकुर नसम्झ’ भन्दै गर्जिने गरी आफ्नो कार्यशैली र जीवन शैलीमा रुपान्तरण गर्दै संगठन तथा जनसंगठन निर्माण, परिचालन र जनसंघर्षमा जुट्नुपर्छ । उत्पादनकोलागि संघर्ष र प्रविधि उपयोगको संघर्षलाई अगाडि बढाउनु पर्छ । जनताको पक्षमा संविधान बनाउन पूरै शक्ति लगाउँदै संघर्षका सबै आवश्यक तयारीहरु गर्नुपर्छ । विजय सन्निकट छ ।
निश्कर्षमा, केही दिन अगाडिको पंक्तिकारकै फेसबुक स्टाटसले बिट मारौं – “प्रचण्ड, तिमी जनताका नेता हौ । जनतामा जाऊ र जनताका कुरा सुन । जनतासँगै सल्लाह गरेर कार्यनीति बनाऊ, जनसंघर्षको योजना बनाऊ । जनतालाई सोध, तिनले कस्तो पार्टी चाहन्छन् ? त्यस्तै पार्टी बनाऊ । उनीहरुलाई सोध, जनचाहना अनुसारको पार्टी कसरी बन्छ ? त्यसरी नै बनाऊ । बस् ! त्यसपछि जे गर्छ, त्यही पार्टीले गर्छ ।”

No comments: