अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)
केन्द्रीय समिति
(स्था. २००७)
मितिः २०७० पौष १६ गते ।
प्रेस विज्ञप्ति
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) नेपालका शोषित, उत्पीडित र श्रमजीवी वर्गको रुपमा रहेका उत्पादक किसानहरुको साझा, नेतृत्वदायी र संघर्षशील संगठन भएको कुरा सबैलाई अवगत नै छ । हाम्रो देश नेपाल कृषिप्रधान देश भएकोले श्रमजीवी किसानहरु यहाँका मुख्य उत्पादक शक्ति हुन् । कृषि पेशा नेपालका दुई तिहाई भन्दा धेरै जनताको जीवनको मूल आधार एवं राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड हो । तसर्थ कृषि क्षेत्र र किसानहरुसँग सम्बन्धित कुनै पनि कुराले सिंगो देश र देशवासीहरुको जीवन र जिविकामा प्रत्यक्ष प्रभाव पार्ने कुरा स्पष्ट छ । त्यसो हुँदा हुँदै पनि हालसालै नेपाल सरकारको किसान विरोधी रवैयाका कारण घटेका निम्न विषयहरुमाथि हाम्रो संगठनको गंभीर ध्यानाकर्षण भएकोले संगठनको तर्फबाट आधिकारिक धारणा सार्वजनिक गर्दै यो विज्ञप्ति मार्फत नेपाल सरकार तथा सम्बन्धित निकायहरुलाई ध्यानाकृष्ट गराउँछौं । हाम्रो मागलाई अवमूल्यन गर्दै सरकारले एकपक्षीय ढंगले किसान विरोधी हर्कतहरुलाई निरन्तरता दिएमा दुई करोड नेपाली किसानहरु सशक्त संघर्षमा उत्रन बाध्य हुनु पर्ने र त्यसबाट उत्पन्न असहज तथा गंभीर परिस्थितिको जिम्मेवार सरकार स्वयं हुने कुरा यसै विज्ञप्ति मार्फत सार्वजनिक गर्न चाहन्छौं ।
क. नेपाली उत्पादक किसानहरु, उपभोक्ताहरु, कृषि विशेषज्ञ तथा प्राविधिज्ञहरु, नागरिक समाज र आमजनताको चर्को विरोधको बाबजुद ‘मृत्यूको बिउ उत्पादन गर्ने कम्पनि’ भनेर चिनिने, वातावरण, मानव स्वास्थ्य र जैविक विविधतामाथि गंभीर नकरात्मक प्रभाव पार्ने अनुवंश परिवर्तित बिउहरु र कृषि रसायनहरु उत्पादन गर्ने, बिउमाथि एकाधिकार कायम गर्न खोज्ने, जैविक चोरी तस्करी गर्ने, चरम भ्रष्टाचार गर्ने÷गराउने, कमजोर एवं कम विकसित राष्ट्रहरुको नीति निर्माणमा सिधा हस्तक्षेप गरी किसान विरोधी कृषि तथा आर्थिक नीति अबलम्बन गर्न, कृषि बजार खुला गराउन र बिउबिजन तथा आनुवांशिक श्रोतहरुको नीजिकरण गर्न बाध्य पार्ने कम्पनिको रुपमा विश्वभर बद्नाम रहेको मोन्सान्टो नामक बहुराष्ट्रिय निगमका विभिन्न बिउहरु कुनै यथेष्ट अनुसन्धान, परीक्षण र प्रमाणहरु बिना नै दर्ता गराई नेपालमा भित्राउने र बेचबिखन गर्ने अनुमति दिइएको खबरले हाम्रो गंभीर ध्यानाकर्षण भएको छ । वर्णशंकर बिउ भनेर दर्ता गरिएका सो कम्पनिका बिउहरु विवादास्पद रहेको एवं अनुवंश परिवर्तिन भएकोमा संकास्पद समेत रहेको ती बिउहरुको तत्काल दर्ता खारेज गरी विक्रि वितरण रोक्न÷रोकाउन नेपाल सरकार, कृषि विकास मन्त्रालय, सो मातहतका निकायहरु र सम्बन्धित सरोकारवालाहरु सबैलाई हार्दिक अनुरोध गर्दछौं ।
ख. मोन्सान्टो कम्पनि विवादास्पद रहेको, यसले उत्पादन गर्ने बिउहरु अनुवंश परिवर्तित र प्याटेन्ट गरिएका हुने, एक पटक खरीद गरेपछि पटक पटक खरीद गर्नु पर्ने, आफै बिउ उत्पादन गर्न नपाइने, ती बिउ प्रयोग गर्नाले हाम्रा उच्च उत्पादक र विशिष्ट गुणयुक्त स्थानीय, रैथाने तथा उन्नत बिउहरु बिस्थापित हुँदै क्रमशः लोप हुने, विउ संरक्षण गर्ने किसानहरुको नैसर्गिक अधिकारमाथि हस्तक्षेप हुने, हाम्रो जैविक विविधतामा प्रतिकूल प्रभाव पार्ने र बिउको नीजिकरणले उत्पादक किसानहरु, स्थानीय समुदाय र राज्यको बिउमाथिको अधिकार ध्वस्त हुने, हामी बिउकोलागि परिनिर्भर हुनु पर्ने र हाम्रो बिउ सम्प्रभुता ध्वस्त हुने भएकोले ती बिउहरुको खरीद तथा उपयोग नगर्न हामी आम नेपाली किसानहरु र कृषि व्यावसायीहरुलाई हार्दिक अपिल गर्दछौं ।
ग. मोन्सान्टो जस्तो विवादास्पद कम्पनि र उसका विवादास्पद बिउ तथा कृषि रसायनहरुको कारणले हाम्रो बिउ सम्प्रभुता मार्फत मुलुकको खाद्यतन्त्रमा विदेशी हस्तक्षेप हुने र भविष्यमा राष्ट्रिय सार्वभौमसत्तामा समेत चुनौति पुग्ने भएकोले सो कम्पनि र त्यसका बिउहरु खरीद–विक्रि गर्ने डिलर नबन्न र त्यस कम्पनिका बिउ तथा कृषि रसायनहरु खरीद–विक्रि नगर्नको लागि हाम्रो देशका सबै राष्ट्रिय पुँजिपतिहरु, कृषि उद्यमिहरु तथा बिउ व्यावसायीहरुलाई हार्दिक अनुरोध गर्दछौं ।
घ. मोन्सान्टो र उसका दलालहरुले संसारभर गरेका किसान विरोधी हर्कतहरुलाई सार्वजनिक गर्न, स्थानीय तहसम्म यसको वास्तविकता बारे जनचेतना फैलाउन र नेपालको खाद्य सम्प्रभुताको अभिन्न अंग रहेको बिउ संप्रभुताको पक्षमा एकतावद्ध हुन हामी नागरिक समाज, बौद्धिक वर्ग, लेखक, पत्रकार, संचारकर्मीहरु सहित आम नेपाली जनतालाई हार्दिक अपिल गर्दछौं ।
नेपालको कूल राष्ट्रिय आयको करीब ७ प्रतिशत हिस्सा ओगट्ने धान जस्तो मुख्य बालीको हालसम्म न्यूनतम् समर्थन मूल्य नतोकिएकोले देशभरका धान उत्पादक किसानहरु चरम शोषण र अत्यन्तै मारमा परेका छन् । ठीक यति नै बेला देशका करीब २० जिल्लाहरुमा मुख्य बालीको रुपमा उखु उत्पादन गर्ने किसानहरुले उखुको उचित मूल्य पाएका छैनन् । बरु उखुको मूल्य निर्धारण बिना नै किसानहरुलाई आफ्नो उखु चिनी मिलहरुलाई दिन बाध्य पारिएको छ । यी घटनाहरुले हाम्रो देशको सरकारको नालायकीपन र किसान विरोधी चरित्रलाई स्पष्ट गरेको छ । त्यसैले हामी नेपाल सरकार समक्ष तत्कालै धान तथा उखु उत्पादक किसानहरुको हित रक्षा हुने र उत्प्रेरणा मिल्ने गरी उत्पादक किसानहरु र किसान संघ÷संगठनहरुको प्रत्यक्ष सहभागितामा उचित मूल्य निर्धारण गरियोस् र किसानहरुलाई बिना अबरोध आफ्नो कृषि उपज बेच्ने वातावरण प्रदान गरियोस भनी जोड्दार माग गर्दछौं ।
हार्दिक क्रान्तिकारी अभिवादन सहित ।
चित्र बहादुर श्रेष्ठ
(अध्यक्ष)
No comments:
Post a Comment