Pages

Wednesday, 31 July 2013

भिमदत्त पन्त अमर रहुन् : श्रेष्ठ

सशस्त्र किसान विद्रोहका नायक क. भिमदत्त पन्त अमर रहुन् ।


क. चित्र बहादुर श्रेष्ठ

नेपाली जनताको मुक्तिकामी संघर्षको इतिहासमा सुवर्ण अक्षरहरुले अंकित सशस्त्र किसान विद्रोहका नायक तथा नेपाली किसान आन्दोलनका एक निडर, जनप्रिय र महान क्रान्तिकारी नेता क. भिमदत्त पन्तको जन्म वि.सं. १९८३ साल मंसिर १० गते नेपालको सुदुर पश्चिमको डडेल्धुरा जिल्लाको सदरमुकाम अमरगढीबाट झण्डै १ किलोमिटर दक्षिणमा पर्ने डोटी घटाला गा.वि.स. वडा नं १ (हाल अमरगढी नगरपालिका २) को कारीगाउँको एक मध्यम किसान परिवारमा बुवा तारानाथ पन्त र आमा सरस्वती देवीको एकल पुत्रको रुपमा भएको थियो । उहाँको बाल्यकाल आफू जन्मेकै गाउँमा बितेको थियो । अध्ययन गर्ने उमेर पुगे लगत्तै उहाँलाई नेपालको सिमावर्ती भारतीय भूमि सिंगाईमा आफन्तहरुको संरक्षणमा पढ्नको लागि पठाइयो । पढाईमा अत्यन्तै मेहनती र लगनशील भएकाले क. भिमदत्त पन्तले १५ वर्षको उमेरमा वि.सं. १९९८ सालमा मेट्रिक पास गर्नुभयो । मेट्रिक पास गरिसकेपछि उहाँ नेपाल फर्किनु भयो । 
युवा अवस्थामा प्रवेशसँगै उहाँले देशको आर्थिक, सामाजिक र साँस्कृतिक असमानता र जातीय उत्पीडनले जकडिएको सामन्ती सामाजिक परिवेश, कुरीति र कुसंस्कारलाई बदल्न आफू अग्रगमनको साहसिक बाटोमा अगाडि बढ्ने अठोट गर्नुभयो । उहाँ २००६ सालदेखि राजनीतिमा प्रत्यक्ष संलग्न हुँदै गरीब तथा श्रमजीवी किसान, मजदूर र उत्पीडित दलित तथा जनजाति समुदायलाई प्रशिक्षित र संगठित गर्दै शोषक, सामन्त, जाली, फटाहाहरु र ठालुहरुको विरुद्धमा आवाज बुलन्द गर्नुभयो । 
समाज परिवर्तनको एक मात्र उद्देश्य बोकेका क. भिमदत्त पन्तको काम र निष्ठा शोषक, सामन्त, जाली, फटाहा र ठालुहरुलाई चित्त बुझ्ने कुरै भएन । सामन्ती जाली–फटाहाहरुले किसानहरुको नाममा बनाएका नक्कली तमसुक च्यात्ने, च्यात्न नमान्नेहरुलाई कारबाहीको निशाना बनाउने, दलित तथा उत्पीडित समुदायलाई माथि उठाउन उनीहरुको घरमा बस्ने, सँगसँगै खाने, महिला तथा किसान जागरण, शैक्षिक आन्दोलन सञ्चालन र नेतृत्व गर्दै हिंड्ने युवा क्रान्तिकारी जननेता क. भिमदत्त पन्त राणा शासक र सामन्त ठालुहरुको आँखाको कसिंगर बन्दै जानुभयो । 
वि.सं. २००१ मा उहाँ पुनः अध्ययनकोलागि भारत जानुभयो । त्यतिबेला भारतमा अंग्रेज विरुद्धको आन्दोलन जोडतोडले अगाडि बढिरहेको थियो । उहाँले आफ्नो अध्ययनलाई थाँती राखी अंग्रेज विरुद्धको भारतीय स्वतन्त्रता संग्राममा भारतीय जनताको पक्षबाट आन्दोलनमा सरिक हुनुभयो । आन्दोलनमा अगाडि बढ्दै जाने क्रममा क. भिमदत्त पन्त अंग्रेजहरुबाट गिरफ्तारीमा पर्नुभयो । गिरफ्तारी पछि उहाँलाई भारतको इलाहावाद जेलमा ठूलो दमन र यातनाकासाथ राखियो । १८ महिनाको कठोर जेल सँजायपछि उहाँ रिहा हुनुभयो । 
त्यस ताका नेपालमा पनि राणा शासन विरुद्धको आन्दोलन सशक्त रुपमा अगाडि बढ्दै थियो । क. भिमदत्त पन्त जेलबाट रिहा भएपछि अध्ययनमा जोडिने सोच गर्नु भएको थियो तर उहाँको क्रान्तिकारी प्रवृत्ति र गरीब एवं उत्पीडित जनता प्रतिको कर्तव्यवोधले व्यक्तिगत अध्ययनमा लाग्न दिएन । उहाँ नेपाल प्रवेश गरी राणाशाही विरोधी आन्दोलनलाई सफल बनाउन लोकतन्त्रका पक्षधर नेता÷कार्यकर्ताहरुसँग सम्बन्ध बिस्तार गर्दै आदिवासी, जनजाति, दलित र किसान जनसमुदायलाई गोलबन्द गर्न थाल्नु भयो । उहाँले दुश्मनको संगठित फौजसँग लड्न विशाल जनसमुदायको पनि फौज बनाउन आवश्यक ठानी किसान मुक्ति सेना गठन गर्नुभयो र राणा विरोधी आन्दोलनको सक्रियतापूर्वक नेतृत्व गर्नुभयो । उहाँले निर्माण गरेको किसान मुक्ति सेनामा सबै जातजातिका उत्पीडित जनताको सहभागिता थियो । राना थारु, मगर र दलितहरुको उल्लेखनीय सहभागिता रहेको सो फौज निर्माण भएको केही समयमै करीब ३५० को हाराहारीको संख्यामा पुगेको थियो । तत्कालीन अवस्थालाई हेर्दा यो एक अत्यन्तै महत्वपूर्ण उपलब्धि थियो । 
वि.सं. २००७ साल पुष २६ गते डडेल्धुरालाई किसान मुक्ति सेनाको कब्जामा लिनुभयो । आन्दोनलले सफलता प्राप्त गरेपछि क. भिमदत्त पन्त, टिकाराम भट्ट, कृति बहादुर बिष्ट, पहलमान कटुवाल, जयराम जोशी, गुणाखर पन्त, डम्बर बहादुर बोगटी र भक्त बहादुर मल्ल सहभागी भएको ८ सदस्यीय आन्तरिक व्यवस्था संचालन गर्ने अस्थायी सरकार निर्माण गरी त्यसको गर्भनर पद सम्हाल्नु भयो ।
आन्दोलनको बल र त्यसमा जनताले देखाएको शाहस, त्याग, बलिदानपछि प्राप्त परिवर्तन एवं त्यसपछि बनेको नयाँ सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन । दिन प्रतिदिन सरकारको काम कारबाहीले जनतामा असन्तुष्टि बढ्दै गयो । आमूल परिवर्तनका पक्षपाती र विद्रोही स्वभावका किसान नेता क. भिमदत्त पन्तलाई सरकारको यसप्रकारको रबैया चित्त बुझ्ने कुरै थिएन । उहाँले पुनः जनताको पक्षमा काम गर्न शुरु गर्नुभयो । जनतालाई सामाजिक न्याय दिने, जनताको  दैनिक जीवनस्तर माथि उकास्ने र जातपात छुवाछुतको अन्त्यकोलागि कार्यक्रम संचालन गर्ने जस्ता कार्यलाई घनिभूत ढंगले अगाडि बढाउनु भयो । यस प्रकारको कार्यले चिढिन पुगेका धर्मभिरु र शोषक ठालुहरु उहाँको विरुद्धमा भित्रभित्रै षड्यन्त्रको शुरुवात गर्न थाले । उनीहरुकै षड्यन्त्र र उक्साहटको पछाडि लागेर नेपाली काँग्रेस सरकारको रक्षादल सिद्धि गणेशको फौजले वि.सं. २००८ सालको भाद्रमा आफ्नै पक्षधर गर्भनर क. भिमदत्त पन्तलाई गिरफ्तार ग¥यो । गिरफ्तारी पछि उहाँलाई पटकपटक अड्डासार गर्दै काठमाण्डौको हनुमान ढोकामा जेल चलान गरी थुनामा राखियो । ४ महिनाको जेल बसाईपछि उहाँ जेलमुक्त हुनुभयो ।
विभिन्न आरोह–अवरोह पार गर्दै जेल जीवनबाट रिहाईपछि क. भिमदत्त पन्तको राजनीतिक जीवनले नयाँ मोड लियो । उहाँको राजनीति नेपाली काँग्रेसको राजनीतिक बिचारधाराबाट शुरु भएको थियो । आफ्नो क्रान्तिकारी जीवनको लामो अनुभव र उहाँले पाएको दुःख, कष्ट, हण्डर, ठक्कर र षड्यन्त्रबाट काँग्रेसको राजनीतिले सामन्तवादको अन्त्य, जातीय विभेदको समाप्ती, राष्ट्रिय स्वाधीनताको रक्षा, घुसखोर कर्मचारीतन्त्र, नाफाखोर कालाबजारी र भ्रष्टाचारको अन्त्य हुन नसक्ने, बरु त्यसकै पक्षपोषण हुने र सशस्त्र क्रान्ति बिना आफूले बोकेको महान लक्ष्य तथा उद्देश्यहरु प्राप्त नहुने अन्तिम ठहर गर्दै आफूले संहाल्दै आएको अस्थायी सरकारको गर्भनर पद र काँग्रेसको राजनीतिलाई परित्याग गर्ने निश्कर्षमा पुग्नुभयो । 
तत्पश्चात उहाँले तत्कालीन कम्युनिष्ट नेताहरु क. निरञ्जन गोविन्द वैद्य, क. मनमोहन अधिकारी, क. शंभुराम श्रेष्ठ लगायतलाई भेटी सम्पर्क स्थापित गर्नुभयो । उहाँहरुसँगको भेटघाट, छलफल र सरसल्लाह बमोजिम क. भिमदत्त पन्त आफ्नै कर्मथलो सुदुर पश्चिम फर्कनु भयो । सुदुर पश्चिम फर्किसकेपछि त्यस बीचमा क. भिमदत्त पन्तको कञ्चनपुरको ब्रम्हदेव मण्डीमा भारतको तेलंगना किसान विद्रोहका नेता कृष्णस्वामी अयङ्करसँग भेट भयो । उहाँले पछिल्लो किसान सशस्त्र विद्रोहको सैद्धान्तिक आधार र प्रेरणा नेता कृष्णस्वामी अयङ्करबाट नै प्राप्त गर्नुभयो । त्यसपछि उहाँ किसान विद्रोहको नयाँ बाटोमा अगाडि बढ्नुभयो । वि.सं. २००८ सालको अन्त्यतिर कञ्चनपुरलाई आन्दोलनको मुख्य केन्द्र बनाउँदै समग्र सुदुर पश्चिममा सामन्तवाद विरोधी सशस्त्र किसान आन्दोलनको साथै कम्युनिष्ट पार्टीको विचार र दर्शनको बिस्तारमा लाग्नुभयो । क. भिमदत्त पन्तको नेतृत्वमा कञ्चनपुरको बम्हदेव मण्डीमा भएको नून र खाद्यान्न काण्ड एवं बेलौरीमा गरेको किसान विद्रोह त्यस बेलाका चर्चित आन्दोलनहरु थिए ।
यो २००९ सालको घटना हो । सुदुर पश्चिममा नून र खाद्यान्नको हाहाकार मच्चिएको थियो । कञ्चनपुर जिल्लाको बम्हदेव मण्डीमा भन्सारका कर्मचारी र नाफाखोर काला व्यापारीहरुको मिलोमतोमा गोदाममा नून र खाद्यान्न लुकाई छिपाई राखेको सुचना क. भिमदत्त पन्तलाई प्राप्त भयो । सुचना प्राप्त भएपछि उहाँले मण्डीको गोदाम कब्जा गर्ने योजना बनाउनु भयो । आफ्नो नेतृत्वमा हजारौंको संख्यामा शोषित, पिडित किसानहरु, दलित, जनजातिहरुको भेला गराई गोदाममा लुकाई राखेको सयौं क्वीन्टल नून र खाद्यान्न कब्जा गरी तिनको अभावले छट्पटिएका जनताहरुलाई वितरण गर्नुभयो । ब्रम्हदेव मण्डीको कोटाको व्यवस्था, भन्सार ठेकेदारको मनोमानी, ठेकेदार र कर्मचारीहरुको मिलोमतो र षड्यन्त्रको विरुद्धमा गरिएको त्यस प्रकारको संघर्षको अभियानले जनतामा ठूलो प्रभाव पर्न गयो भने भन्सारको हाकिम रहेको सुब्बा जयदेव भट्ट, डिट्ठा धर्मसिंह रावल, सुवेदार जोगराज ऐरु विरुद्धको सशक्त कारबाहीले आन्दोलनलाई थप उर्जा थप्ने काम ग¥यो । त्यस घटनामा डिट्ठा धर्मसिंह रावललाई बोरामा बाँधेर महाकाली नदीमा फ्याँकिएको थियो ।
कञ्चनपुरको ब्रम्हदेव मण्डी गोदामको सफल कब्जा र त्यसले जनतामा पारेको प्रभावले क. भिमदत्त पन्तको विद्रोही स्वभावलाई झन उत्साही बनायो । त्यसको लगत्तै २००९ सालको अन्त्यतिर ‘किसान राज – जिन्दावाद’, ‘शोषक सामन्त – मुर्दावाद’, ‘कि त जोत हलो, कि त छोड थलो ः बिना जोती हलो, अब हुन्न ठूलो’, ‘रोजी रोटी कपडा दे ः नत्र गद्दी छोडि दे’ जस्ता गगनभेदि नाराका साथ गाउँगाउँमा सामन्त, ठालु, जमिन्दारहरुको विरुद्धमा हुँकार गर्दै हजारौंको संख्यामा किसान तथा उत्पीडित जनसमुदायको उपस्थितिमा किसान मुक्ति सेनालाई साथमा लिंदै डडेल्धुरा र कञ्चनपुरको तत्कालीन सदरमुकाम बेलौरीलाई चारैतिरबाट सशस्त्र घेराबन्दी गर्दै कब्जा गरियो । सरकारी बडा हाकिमलाई गिरफ्तार गरी बन्दी बनाइयो र बडा हाकिमको कुर्चीमा गरीब किसानको छोरा भुख्खा राना थारुलाई बसाइयो । उक्त सशस्त्र संघर्षको क्रममा एक प्रहरी प्रमुख मारिए भने अन्य कर्मचारीहरु भागाभाग गरी आफ्नो ज्यान जोगाए । यस प्रकारको किसान विद्रोहको सफलताले थोरै समयमा नै शोषक, सामन्त, जमिन्दार, पटवारी र सरकारलाई समेत आच्छु आच्छु बनायो । उक्त आन्दोलनको क्षेत्र किसानहरुको नियन्त्रणमा आयो । संघर्षको रापताप पुरै सुदुरपश्चिम क्षेत्रसँगै देशभर फैलियो । भारतमा समेत यसको प्रचार र प्रभाव प¥यो । 
ब्रम्हदेव मण्डी र बेलौरीलाई सशस्त्र विद्रोहद्वारा कब्जामा लिइसकेपछि क. भिमदत्त पन्तले कैलालीको सदरमुकाम धनगढी कब्जा गर्ने योजना बनाई रहनु भएको थियो भने अर्र्कोतर्फ किसान सशस्त्र विद्रोहले अत्तालिएको प्रतिक्रियावादी नेपाली काँग्रेसको सरकार र त्यसका प्रधानमन्त्री मातृका प्रसाद कोइरालाले क. भिमदत्त पन्तको सशस्त्र किसान विद्रोहलाई कसरी दमन गरी सिध्याउने भनी षड्यन्त्रका तानाबाना बुनिरहेको थियो । आन्दोलनको नेतृत्व गर्दै अगाडि बढ्ने क्रममा २००९ साल चैत्र २७ गते क. भिमदत्त पन्तलाई दुश्मनहरुले गिरफ्तार गर्न सफल भए । गिरफ्तारीपछि उहाँलाई कडा निगरानी र यातनाकासाथ बेलौरी जेलमा राखियो । जेलको सुरक्षामा खटेका धर्म समशेर लगायतका सुरक्षाकर्मीहरुलाई छक्काउँदै बेलौरी जेल तोडेर २०१० साल असारको तेश्रो हप्तामा उहाँ जेलबाट उम्कन सफल हुनुभयो र डढेल्धुरा जानुभयो । जेल तोडेर उम्कन सफल भए पनि दुश्मनले उहाँमाथि निगरानी रहेकोले उहाँ लामो समय भूमिगत रहन सक्नु भएन । डढेल्धुराका सामन्त, जाली, फटाहाहरुको साथै बडा हाकिम मोहन बहादुर सिंहको मिलोमतोमा उहाँलाई पुनः आफ्ना सहयोद्धाहरुसँगै गिरफ्तार गरी बेलौरी जेलमा चलान गरियो । बडा हाकिम मोहन बहादुर सिंहले बेलौरीमा धरै दिन राख्नु उचित नठानी त्यहाँबाट अनेत्र जेल चलान गर्ने क्रममा जोगबुढा पुग्दा नपुग्दै आफू लगायत आफ्ना सहयोद्धालाई लिएर गइरहेका सिपाहीहरुलाई आफ्नो प्रभावमा पारी क. भिमदत्त पन्त सहयोद्धाहरु मुल्मी प्रधान र गर्भु राना थारु सहित उम्कन सफल हुनुभयो । त्यसपछि त किसान विद्रोहले झन तीब्र गति लियो ।
सो घटनाबाट विक्षिप्त भई पागल झैं बनेको काँग्रेसको मातृका प्रसाद कोइराला सरकार र आफ्नो सुरक्षा बलले मात्र किसान विद्रोहलाई दबाउन नसक्ने अन्तिम निस्कर्ष निकाल्दै बिस्तारवादी भारतीय शासकहरुलाई गुहार्न पुग्यो । भारतीय शासकहरुले आफ्नो कठपुतली मातृका सरकारको अनुनयलाई स्वीकार गर्दै भारतको लखनउबाट ठूलो संख्यामा भारतीय फौजलाई नेपालमा पठायो । नेपाली सेनाका तत्कालीन सेनापति किरण समशेर र भारतीय फौजको नेतृत्व कमाण्ड बीच भारतको बरेलीमा बसेर क. भिमदत्त पन्तको हत्या गर्ने र किसान सशस्त्र विद्रोहलाई व्यापक दमन गर्दै समाप्त पार्ने योजना बनाए । त्यसको संयुक्त कमाण्ड किरण समशेरले गर्ने सहमति गरे । त्यसको लगत्तै दक्षिण तर्फबाट भारतीय सेना र उत्तर तर्फबाट नेपाली सेनाले तीब्र दबाब बढायो । भारतीय सेना र क. भिमदत्त पन्तले नेतृत्व गर्नु भएको किसान जनसेनाको बीचमा धनगढी (कैलाली)को बेदाहामा भिषण दोहोरो भिडन्त भयो । दुवै तर्फ ठूलो संख्यामा सेनाहरुको हताहत भयो । तत्काल किसान विद्रोह छापामार युद्धमा बदलियो र दुवै बीच ठाउँठाउँमा भिडन्तहरु भए । यसै क्रममा भारतीय शासकहरुले थप भारतीय फौज नेपालमा पठाउने निर्णय ग¥यो भने नेपाली काँग्रेसको मातृका सरकारले क. भिमदत्त पन्तको टाउको काटेर सरकारलाई बुझाउने व्यक्तिलाई भा.रु. ५,०००÷– र एउटा बन्दुक पुरस्कार दिने घोषणा ग¥यो ।
क. भिमदत्त पन्तले ठूलो संख्यामा थप भारतीय फौज कैलाली र कञ्चनपुरको सीमाबाट नेपाल प्रवेश गरेको थाहा पाउने बित्तिकै आफ्नो विद्रोहको कार्यनीति परिवर्तन गर्दै आफनो संघर्ष र फौजलाई तराईबाट पहाडी भूभागमा केन्द्रित गर्दै आफना सहयोद्धा र सेनालाई दुश्मनसँग बच्न र सुरक्षित हुन निर्देशन दिंदै उर्दी जारी गर्नुभयो । त्यसपछि क. भिमदत्त पन्त संघर्षका भावी योजनाहरु तयार गर्न आफ्ना महत्वपूर्ण सहयोद्धाहरु बहादुर खत्री र मोहनसिंह सेठीको साथ डोटीको उत्तर गल्लेकको जंगलमा पुग्नुभयो । जंगलमा बस्दा बाहिरको स्थिति बुझ्न समस्या परेको हुँदा बाहिरको स्थिति बुझ्न र खबर ल्याउनको लागि सहयोद्धा मोहनसिंह सेठीलाई बाहिर पठाइयो । बाहिरको परिस्थिति बुझ्न डढेल्धुरा पुग्नु भएका मोहनसिंह सेठी दुश्मनको कब्जामा पर्नुभयो भने बहादुर खत्रीलाई अर्को महत्वपूर्ण काममा खटाइएको हुँदा क. भिमदत्त पन्त जंगलमा एक्लै पर्नुभयो । जंगलमा एक्लै बस्न उचित नठानी उहाँ जंगलबाट बाहिर निस्केर डढेल्धुरा र डोटीको सिमानामा पर्ने जंगल किनारको बुडर गल्लेक गाँउका हामजाली मगरको घरमा आश्रय लिन पुग्नुभयो । त्यहाँ आश्रय लिएको २०१० साल श्रावण १७ गते ७ दिन पुगिसकेको थियो ।
अर्कोतर्फ डढेल्धुराका बडा हाकिम मोहन सिंहले आफना गुप्तचरहरु मार्फत क. भिमदत्त पन्तको खोजी  कार्य तीब्र रुपमा बढायो । आफ्नै नजिकको मान्छेबाट खोजी कार्य गर्न र बसेको ठाउँ पत्ता लगाउन सहज र संभव हुने कुरा बुझेको बडा हाकिम मोहन सिंहले पुलिसको हबल्दार रहेको स्वयं क. भिमदत्त पन्तको मीत लाल बहादुर थापाको नेतृत्वमा भिम्बा दयाल लगायतको ११ जना सरकारी भिजिलान्तेहरुको विशेष टोली गठन ग¥यो । उक्त टोलीले क. भिमदत्त पन्तको खोजी गर्ने क्रममा उहाँ हामजाली मगरको घरमा आश्रय लिई बस्नु भएको कुरा सुराकीहरुद्वारा पत्ता लगायो । 
क. भिमदत्त पन्त हामजाली मगरको घरमा आश्रय लिएर बसेको ७ औं दिन बिहानको खाना खाने समय पारी मीत लाल बहादुर थापा लगायतको टोली त्यहाँ पुगे । त्यतिबेला उहाँ खाना खाँदै हुनुहुन्थ्यो । सरकारी भिजिलान्तेहरुको समूहले उहाँ बसेको घरलाई चारैतिरबाट घेरा हाले । उहाँलाई आफू सरकारी भिजिलान्तेहरुबाट घेरामा परेको थाहा भयो । उहाँले घेरा तोडेर निस्कन सकिन्छ कि भनी दायाँ बायाँ हेर्नुभयो । तर कतैबाट पनि उम्कन सक्ने ठाउँ थिएन । त्यसको लगत्तै उहाँको मीत लालबहादुर थापाले घरको आँगनबाट “मीतज्यु, हजुरको सहयोग गर्न आएको छु, घर बाहिर निस्कनुहोस्” भनी बोलायो । क. भिमदत्त पन्तलाई लाल बहादुर थापाले सरकारी सिन्दुर पहिरिएको र सामन्त, जमिन्दार एवं ठालुहरुको नून खाएको भएता पनि आफ्नै मीत भएकोले ‘मारी त हाल्दैनन् कि’ भन्ने लाग्यो । तर सोच र चिन्तन नै लम्पट भइसकेको र आफ्नो स्वाभिमान गुमाई सकेको व्यक्तिसँग यस प्रकारको नैतिकताको अपेक्षा राख्नु उहाँको भ्रम मात्र हुन पुग्यो । घरको ढोका खोलेर बाहिर मात्र के निस्कन  लाग्नु भएको थियो, आततायी प्रहरी हबल्दार रहेको गद्दार मीत लाल बहादुर थापाले क. भिमदत्त पन्तको छातीमा गोली प्रहार ग¥यो । गोली लागेका क. भिमदत्त पन्त जमिनमा ढल्नु भयो । जमिनमा ढल्दै गर्दा उहाँले निकै ठूलो स्वरमा ‘शोषक सामन्त ः मूर्दावाद, किसान राज ः जिन्दावाद’ को नारा लगाउनु भयो र आफ्नो प्राण त्याग गर्नुभयो । 
प्राण त्याग गरिसकेका क. भिमदत्त पन्तको हत्या गरेर पनि नपुगेर सँगै गएको सरकारी भिजिलान्ते समूहको अर्को हत्यारो जल्लाद भिम्बा दयालले आफ्नो कम्मरमा भिरेको खुकुरी झिकेर उहाँको गर्दनमा प्रहार ग¥यो । शरीर र टाउको अलग अलग छुट्याई हत्यारो जत्था क. भिमदत्त पन्तको शरीर त्यहिं छोडी उहाँको टाउको बोकेर डडेल्धुराको सदरमुकाम खलंगा तिर लागे । हत्यारो जत्था टाउको बोकेर भोलिपल्ट अर्थात २०१० श्रावण १८ गते दिउँसो खलंगा सदरमुकाममा पुगे । क. भिमदत्त पन्तको हत्याको खबर पाउनासाथ खलंगामा सुदुर पश्चिमका शोषक, सामन्त र ठालुहरुको साथै सरकारी कर्मचारीहरु जम्मा भई विजयोत्सवका साथ खुशीयाली मनाउँदै भोजभतेर गर्न थाले । अर्कोतर्फ आफ्नो प्यारो नेताको हत्याले शोकाकुल भएका आम उत्पीडित र गरीब जनताको साथै किसान जनसमुदाय पीडा, शोक र चिन्ताले छट्पटिई रहेका थिए ।
हत्याराहरुले त्यसैदिन डढेल्धुरा जिल्लाको खलंगा बजार स्थित गौडा गोश्वारा अगाडि (हाल जिल्ला प्रहरी कार्यालय हाताभित्र रहेको भैरव मन्दिर भएको स्थानमा) एउटा अग्लो बाँसको लिङ्गो गाडे । क. भिमदत्त पन्तको आँखा बन्द भएको टाउको बाँसको कप्टेरोले आँखा खोलेर उहाँको टाउको लिङ्गोमा सिउरेर झुण्डाउँदै ‘हाम्रा विरुद्धमा धावा बोल्ने, देशद्रोह र राजद्रोह गर्नेको हविगत यस्तै हुन्छ’ भन्ने पोष्टर लेखेर राखियो । त्यसलाई ३ दिनसम्म प्रदर्शन गरी आमजनतामा आतंक फैलाउने काम गरियो । क. भिमदत्त पन्तको हत्या गरे वापत हत्यारो जल्लाद प्र.ह. लाल बहादुर थापालाई बडा हाकिम मोहन बहादुर सिंहले भा.रु. ५,०००÷– बक्सिस दिंदै धन्यवाद दियो । उसले बक्सिस र धन्यवाद पाएकोमा आफूले ठूलो बहादुरी गरेको ठानी खुशीयाली मनायो ।
प्रतिक्रियावादी मातृका सरकारले श्रावण २० गते ‘गल्लेकको जंगलमा सेना र प्रहरीसँग भिडन्तमा देशद्रोही र राजद्रोही आतंककारी भिमदत्त पन्त मारिएको’ भनी झुठो समाचार प्रकाशित ग¥यो भने श्रावण २४ गते ‘नेपाल पुकार’ साप्ताहिकले त्यस प्रकारको सरकारी झुठो समाचारको खण्डन गर्दै क. भिमदत्त पन्तको ‘सरकारी सेना र प्रहरीसँग दोहोरो भिडन्तमा नभई सरकारी हत्यारा भिजिलान्तेहरुले षड्यन्त्रपूर्वक हत्या गरेको’ सत्य तथ्य खबर प्रकाशित ग¥यो । 
क. भिमदत्त पन्तको हत्या गरी उहाँको टाउको प्रदर्शन गरेको ३ दिनपछि श्रीमति पार्वती देवी र भाइ धर्मदेव पन्त लगायतका आफन्तहरु उहाँको शव माग्न सदरमुकाम खलंगा पुग्नु भयो । बडा हाकिम मोहन बहादुर सिंहसँग भेट गरी अन्त्यष्टि गर्नकोलागि शव माग्दा उसले ‘शव नदिने’ भनी उल्टै हप्कायो । पछि उहाँहरुले धेरै जोडबल गरेपछि ३१ वटा शर्तमा श्रीमति पार्वती देवीको सहीछाप गराएर उहाँको जिम्मामा क. भिमदत्त पन्तको टाउको दिइयो । भाइ धर्मदत्त पन्तले दाजुको काटिएको टाउको बोकी डोटी घटाल बाबा मन्दिर छेउमा अन्तिम संस्कारकोलागि ल्याउनु भयो । हजारौं गरीब तथा उत्पीडित किसानहरु आफ्नो एक होनाहार क्रान्तिकारी किसान नेताको अन्तिम संस्कारमा आउन चाहन्थे तर आततायी मातृका सरकारको दमन र आतंकले जनतालाई अन्त्यष्टिमा आउन रोकियो । आतंकको बीचबाट पनि सिद्धराज पन्त, शिवराज उप्रेती, सोबे सार्की, झकिरे दमाई लगायतका सहयोद्धाहरु अन्त्येष्टिमा सहभागी हुनु भई उहाँको अन्तिम संस्कार गर्नुभयो । यसरी प्रतिक्रियावादी सामन्ती राजको अन्त्य गर्दै किसान राज कायम गर्ने मुख्य उद्देश्य बोकेर हिंडेको एउटा युगपुरुष तथा क्रान्तिकारी किसान जनविद्रोहका नायक क. भिमदत्त पन्तले आफ्नो सपना पूरा नहुँदै २६ वर्ष ८ महिना ७ दिनको उमेरमा दुश्मनको कब्जामा परी वीरगति प्राप्त गर्नुभयो । उहाँको हत्या र किसान विद्रोहलाई दमन गर्न आएको भारतीय फौज श्रावण २७ गते नेपालबाट भारत फर्कियो । क. भिमदत्त पन्तको हत्या लगत्तै उहाँको नेतृत्वमा रहेको किसान मुक्ति सेनाका २७६ जना सहयोद्धाहरुलाई समेत गिरफ्तार गरी धनगढी जेल चलान गरियो । २०१३ सालमा टंक प्रसाद आचार्य प्रधानमन्त्री भएपछि मात्रै सबैलाई आममाफी दिई जेलमुक्त गरियो । 
क. भिमदत्त पन्तका जेठा छोरा लिलाराज पन्त, कान्छा छोरा प्रेमराज पन्त र छोरी रेखा पन्त गरी २ छोरा र १ छोरी थिए । यी तीनै जनाको मृत्यू बिरामी हुँदा उपचार पाउन नसकेर भएको थियो । यस्तो दुःखद अवस्थामा पनि क. भिमदत्त पन्तले परिवारप्रति कुनै सहयोग गर्न सक्नु भएन । उहाँले नीजि र पारिवारिक जीवनलाई भन्दा किसान विद्रोहलाई प्राथमिकतामा राख्नुभयो । देश र जनता प्रतिको आफ्नो महान् अभिभारा पूरा गर्ने क्रममा उहाँले परिवार र व्यक्तिगत जीवनलाई आवश्यक समय दिन पाउनु भएन ।
क. भिमदत्त पन्तले नेपाली किसानहरुकोलागि गरेको किसान जनविद्रोह होस् वा तत्कालीन भ्रष्ट तथा राष्ट्रघाती सरकार विरुद्धको संघर्ष होस्, ती आफैमा महान छन् । नेपाली किसानहरु, उत्पीडित गरीब जनता र तमाम क्रान्तिकारीहरुले क. भिमदत्त पन्तलाई युगौंयुग सम्म स्मरण गर्दै क्रान्तिको विकासमा उहाँले पु¥याउनु भएको योगदानको कदर गरिरहने छन् । हाम्रो गौरवशाली संगठन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) उहाँको ६० औं स्मृति कार्यक्रममा उहाँको अधुरो सपना पूरा गर्न र उहाँले देखाउनु भएको बाटोको अनुशरण गर्न दृढ संकल्पित छ । साथै, क्रान्तिकारी किसान आन्दोलन सफल नहुञ्जेल क्रान्तिको बाँकी अभिभारा पूरा गर्न अन्तिमसम्म अथक रुपमा लडिरहने प्रतिबद्धता जाहेर गर्दछ ।

(मिति २०६९ साउन १७ गते क. भिमदत्त पन्तको ६० औं स्मृति दिवसमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)को केन्द्रीय समितिको तर्फबाट अध्यक्ष क. चित्र बहादुर श्रेष्ठद्वारा प्रस्तुत उहाँको जिवनी र संघर्षको इतिहास)
साभार: लेफ्ट रिभ्यु अनलाइन

Monday, 15 July 2013

कृषिमा प्रत्यक्ष विदेशी लगानी र कृषि उपनिवेशवाद –नहेन्द्र खड्का

कृषिमा प्रत्यक्ष विदेशी लगानी र कृषि उपनिवेशवाद
–नहेन्द्र खड्का
निर्बाहमुखी खेती प्रणालीमा आधारित नेपाली कृषि र किसानहरु यतिखेर विश्व व्यापार संगठन र त्यसको बाहुबलमा तयार गरिएको कृषि सम्झौताले गर्दा ठूलो मारमा परिरहेका छन् र उनीहरुको जीवन, जीविका र भविष्य खतरामा छ । चण्डाल साम्राज्यवादीहरु र नाफाखोर बहुराष्ट्रिय निगमहरुको इशारामा विश्व व्यापार संगठनका जनविरोधी नीतिहरु लागू गर्न नवउदारवादका मतियारको रुपमा प्रयुक्त भएका अन्तराष्ट्रिय मुद्रा कोष, विश्व बैंक तथा एशियाली विकास बैंक जस्ता अन्तराष्ट्रिय वित्तीय सञ्जालहरुले किसान विरोधी नीति नियमहरु लादिरहेका छन्, अझै लाद्ने प्रयत्न गरिरहेका छन् ।
शक्तिशाली साम्राज्यवादीहरुले हिजो सैनिक शक्तिद्वारा कमजोर देशको भूभाग कब्जा गर्थे र ती देशहरुमा आफ्नो उपनिवेश मार्फत जनतालाई शासन गर्नुको साथै त्यहाँका बजार र प्राकृतिक श्रोत तथा साधनहरुको चरम दोहन गर्थे । साम्राज्यवादले नवउपनिवेशको रुप ग्रहण गरेपछि उसले आफ्ना विभिन्न कठपुतली संस्थाहरु मार्फत दृश्य वा अदृश्य तरीकाले नयाँ ढंगको उपनिवेश कायम गर्न र बजारमा नियन्त्रण गर्न थाल्यो । तर पछिल्लो चरणमा नवउदारवादको यो रुप पनि क्रमशः असफल हुँदै गएपछि उनीहरुले पैसाको बलमा भूमि कब्जा गरेर गरीब देश र त्यहाँका गरीब जनताहरुमाथि आफ्नो उपनिवेश लागू गर्दैछन् । कृषि उत्पादनका साधन र सामग्रीहरुमाथि कब्जा, बीउविजन तथा अनुवांशिक श्रोतहरुमाथि प्राधिकार, किसान विरोधी शर्त र नीतिगत हस्तक्षेप मार्फत आफ्नो अघोषित उपनिवेश लागू गरिरहेका छन् । जमीन र कृषि तथा खाद्य प्रणालीमाथि पकड कायम गरेर समग्र देशको अर्थतन्त्र र सार्वभौमसत्ता कब्जा गर्ने यो साम्राज्यवादको नयाँ रुप हो — कृषि साम्राज्यवाद अर्थात कृषि उपनिवेशवाद । यस्तो कृषि उपनिवेशवादको विरुद्ध जुझारु संघर्ष गर्नु आजको आवश्यकता हो । र, हरेक देशभक्तको कर्तव्य पनि ।
आजभोलि कथित विकसित राष्ट्रहरुले गरीब तथा कमजोर राष्ट्रका किसानहरुको जमीन कब्जा गरेर कृषि भूमिलाई गैरकृषि र गैरखाद्य क्षेत्रमा प्रयोग गर्ने, उत्पादक किसानहरुलाई जग्गा जमिन विहीन बनाउने र समग्र कृषि तथा खाद्यान्न उत्पादनमा नियन्त्रण जमाउने कामलाई संसारभर डरलाग्दो रुपमा अगाडि बढाएका छन् । हाम्रो देशमा राष्ट्रियताको कुरा गर्दा भारतसँगको सिमाना र ऊसँग गरिने सन्धि सम्झौतालाई मात्रै ध्यान दिने गरिएको छ । तर हाम्रो सिमानालाई कायमै राखेर हाम्रो समग्र कृषि तथा उत्पादनमूलक भूमि र बीउबिजन तथा अनुवांशिक श्रोतहरु कब्जा गरेर नयाँ रुपमा प्रवेश गरिरहेको साम्राज्यवाद र त्यसबाट हाम्रो राष्ट्रियता, राष्ट्रिय अर्थतन्त्र र सार्वभौमसत्तामा पर्ने प्रभावको बारेमा धेरै मानिसहरु अनभिज्ञ छन् । त्यसैले नेपाली किसानहरु, किसान आन्दोलनका अगुवाहरु, राजनैतिक दलहरु, तिनका नेताहरु, बुद्धिजीवी वर्ग र संचारकर्मीहरुले कृषि उपनिवेशवाद र यसको अन्तराष्ट्रिय प्रबृत्ति बारे अध्ययन गर्नु र अत्यन्तै सचेततापूर्वक प्रतिरोध गर्नु जरुरी छ ।
चीनका कैयौं कम्पनिहरुले ब्राजिल र मदगास्करमा २०–२० लाख हेक्टरको दरले थुप्रै जमिन किनेका छन् । अमेरिकाले अफ्रिका र दक्षिण अमेरिकामा त्यस्तै गरेको छ । बंगलादेशले समेत केन्यामा लाखौं हेक्टर जमिन खरीद गरेको छ । नेदरल्याण्डले पोल्याण्डमा किनेको छ । त्यस्तै गरी मोन्सान्टो जस्तो कुनै ठूलो बहुराष्ट्रिय कम्पनि नेपालमा आउने हो भने उसले नेपालको सबै कृषियोग्य भूमि (करीब ४० लाख हेक्टर) खरीद गर्न वा भाडामा लिइ त्यहाँ आफ्नो इच्छा अनुसारका बालीहरु लगाउन सक्छ ।
मानिलिनोस् कुनै कम्पनिले नेपालको सबै जमिन लिएर त्यसमा सुर्ती, कपास, जुट, सजिवन, घिउकुमारी, स्टिभिया, लौठ सल्ला, चिया, कफी, रबर, पौलेनिया, युक्यालिप्टस, किम्बु जस्ता नाफामूलक बाली मात्रै खेती ग¥यो भने हामीले खाद्यान्नमा विदेशीमाथि निर्भर हुनुपर्छ । उसले खाद्यबाली नै लगाएर यहाँको खाद्यान्न उत्पादन तथा बजार मार्फत नेपालीहरुको खाना र खाद्य अधिकारको लगाम पूर्ण रुपमा आफ्नो हातमा लिन सक्छ । कुनै ठूलो गाई फर्म आएर औद्योगीकृत रुपमा ५ लाख गाई पाल्दियो र डेरी उद्योग खोल्दियो भने नेपालका सबै पशुपालक किसान र डेरी उद्योगहरु ध्वस्त हुनेछन् । कनै कम्पनिले आफ्नै ह्याचरी, दाना कारखाना र मासु पसल सहित ५० लाख कुखुरा पाल्दिने हो भने यहाँका सबै कुखुरापालक किसान, कुखुरा तथा अण्डा व्यावसायी, ह्याचरीहरु, दाना उद्योग र मासु पसलेहरु ध्वस्त हुनेछन् । कसैले ५ लाख भैंसी पालेर मासु पसलहरुको श्रृंखला चलाइदिने हो भने सबै भैंसीपालक किसान, धेरै दूध उत्पादक किसान र मासु पसलेहरु ध्वस्त हुन्छन् । त्यति मात्रै होइन, नेपाली सुकुटी, मःम र अन्य मासुजन्य परिकार बनाई बेच्ने सबै व्यावसायी तथा लघुउद्यमीहरु पनि त्यही एउटा कम्पनिको दास हुन पुग्छन् । यसरी उत्पादनमा विदेशी कम्पनिको दबदबा र नियन्त्रण बढ्दै जाँदा एकातिर यो देशका सारा किसानहरु, व्यावसायीहरु र लघुउद्यमीहरु विस्थापित हुनेछन् भने अर्कोतिर यो देशका कथित पुँजिपतिहरुले समेत खल्तिमा टन्न पैसा बोकेर पनि चाहेको कुरा खान नपाउने अवस्था आउन सक्छ, गरीबका त कुरै छोडौं ।
नेपालमा उत्पादनमूलक पूँजिवादको विकास नभएको, यहाँको पुँजिपति वर्गले ‘के गर्ने बेला, के खोज्ने’ र ‘के गरि पनि सकें, दैलो पनि देखेँ’ भन्ने प्रबृत्ति बोकेकोले नेपाली उद्योगी, व्यापारी र व्यावसायीहरुको यसबारे ध्यान पुगेको छैन । त्यसमाथि जन्मँदै करोडौंपति भएर आएको, अबैध तरीकाले रातरात करोडौंपति भएको, विदेशीको दलाली गर्न पल्केको, सामन्तवादसँग घाँटी जोडेको र पिछडिएको चेतना भएको वर्ग नै नेपालको पुँजिपति वर्ग भएकोले उसको चेतनाले यी सबै कुरा सोच्न सकेको छैन । जसले सोच्न सक्छ, ऊ विदेशीको दलाल बनिसकेको छ । यस अर्थमा हेर्दा नेपालको पुँजिपति वर्ग आफ्नो वर्गहित समेत रक्षा गर्न नसक्ने कायर र नपुंसक वर्गको रुपमा रहेको कुरा स्पष्ट हुन्छ ।
हाम्रो देशका राजनैतिक दलका नेताहरुको ध्यान यतातर्फ पुगेको छैन । विदेशी लगानी भन्दासाथ स्वर्ग जाने बाटै पाए जस्तो सम्झने र विदेशीले लगानी गरिदिए सुन्तलाको बोटमा सूनै फल्ने जस्तो व्यवहार गर्ने परिपाटीले नेपालको कृषि तथा खाद्य प्रणाली, अर्थतन्त्र, राष्ट्रियता, सार्वभौमसत्ता र जनजिविकामा गंभीर खतरा उत्पन्न हुनसक्ने देखिएको छ । यी समस्याहरु भनेका केवल उत्पादक किसानका समस्याहरु होइनन् । जुन देशको कृषि पछाडि पर्छ, त्यो देश कहिल्यै अगाडि बढ्न सक्दैन । जुन देश खाद्यान्नमा परनिर्भर हुन्छ, त्यो देश अपवादमा बाहेक सार्वभौम हुनसक्दैन । तर नेपाली कृषि र किसानका समस्याहरुका बारेमा कसैको ध्यान पुगेको छैन । नेपालका राजनैतिक दलका नेताहरु, अर्थविज्ञहरु र कृषिविज्ञहरुले यसतर्फ ध्यान दिन सकेको देखिएको छैन । राजनैतिक दलहरुले आफ्ना भातृसंगठनको रुपमा रहेका किसान संघ÷संगठनहरुसँग यस्ता विषयहरुमा सोध–खोज र सरसल्लाह गर्ने गरेका छैनन् ।
समय नपुगेर हो वा औकातको कमीले, नेपालको नागरिक समाज, बुद्धिजीवी वर्ग र संचार जगत पनि यस्ता विषयहरु उठान गर्न चुकेको छ, ती पनि केवल राजनैतिक दलहरुलाई गाली गर्नमा मात्र व्यस्त छन् । नेपालको समग्र गैर किसान तप्का जति सबैले आफू किसानका छोराछोरी भएको र कृषिका होनाहार विज्ञ भएको ‘मुते न्यानो’मा मग्नमस्त हुँदै किसानहरुको भाग खोस्न, उनीहरुलाई घृणा, अपमान, अवहेलना र तिरस्कार गर्नमा गर्व महशुस गर्ने गरेको छ । कृषि विकास मन्त्रालय मार्फत शक्तिशाली विदेशी दातृ निकायहरुको ‘भूतछाँया’मा देशको २० वर्षे कृषि रणनीति बन्दैछ । तर के हुँदैछ, कस्तो बन्दैछ, कसैलाई कुनै चासो छैन । उद्योग मन्त्रालय अन्तरगत विदेशी लगानी तथा प्रविधि हस्तान्तरण बारे ऐन नियम बन्ने र संशोधन हुने प्रकृया निरन्तर चलिरहेको छ । तर राजनीतिको चाबी बोकेर बसेको यो वर्गलाई कुनै मतलब छैन । यही कारण हो जसले गर्दा नेपाल पछाडि परिरहेको छ ।
उद्योग मन्त्रालयले बनाउन लागेको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धि नयाँ व्यवस्थाले नेपाली कृषिलाई विदेशीको हातमा सुम्पने प्रष्ट छ । हालै बनिरहेको २० वर्षे दीर्घकालीन कृषि रणनीतिमा कुटनैतिक र अघोषित तरीकाले कृषिमा विदेशी लगानी भित्राउने नाममा विभिन्न ऐन र कानूनहरु निर्माण गरी नेपाली जमिनलाई विदेशीहरुले लिन पाउने गरी चोरबाटो खुला गर्ने प्रयत्न हुँदैछ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)को नेतृत्वमा सबै किसान संगठनहरुले त्यसको प्रतिरोध गरिरहे पनि विदेशी परामर्शदाताहरु र दातृ निकायहरुले भने आफ्नो प्रयत्न जारी राखेको देखिएको छ । व्यक्तिगत रुपमा त्यसमा संलग्न नेपाल सरकारका कर्मचारीहरु त्यसको विरुद्ध भए पनि नीतिगत र संस्थागत रुपमा प्रतिरोध गर्न सक्ने अवस्था देखिएको छैन । समग्रमा हेर्दा डरलाग्दो अवस्था सृजना भएको छ ।
कृषि उपनिवेशवादको शिकार हुनबाट जोगिने हो भने कृषि भूमि विदेशी व्यक्ति, संघ, संस्था वा सहकारीहरुले किन्न वा भाडामा प्रयोग गर्न प्रतिबन्धित गरिनुपर्छ । जल, जमिन, जंगल, जडिबुटी र जैविक विविधता सहित प्राकृतिक श्रोतसाधनहरुमा किसानहरुको अग्राधिकार कायम गराइनु पर्छ । कृषि क्षेत्रमा र त्यसमा पनि विशेष गरी खेतीपाती र व्यावसायिक कृषि उत्पादनमा प्रत्यक्ष विदेशी लगानीलाई प्रतिबन्ध लगाइनुपर्छ । अन्यथा हामीले सिमाना मिचिएका तस्बीर छाप्ने र हेर्ने गर्दागर्दै देशको तालाचाबी भने विदेशीको हातमा पुगिसकेको हुनेछ । त्यसपछि अन्नकोलागि विदेशीहरु र बहुराष्ट्रिय निगमहरुसँग कटौरो बोकेर भिख माग्दै हिड्न परेपछि नेपालीहरु बहादुर भएको कथा हाल्नु, नेपालमा सगरमाथा र लुम्बिनी भएको भाषण गर्नु र देशभक्तिका गीत गाउँदै हिड्नुको औचित्य बाँकी रहने छैन । चेतना भया ।