नेपालमा च्याउखेती गर्दै चिनियाँ
पचास वर्ष टेकेका डिरोङ ललितपुरको हरिसिद्धिमा चार वर्ष खनजोतपछि दाबी गर्न थालेका छन्- 'नेपालमा च्याउ क्रान्ति ल्याउन सकिन्छ।'
उनी पत्नी झुइरोङ र तोते लवजमा नेपाली बोल्ने २२ वर्षे छोरा झुइवानसँग च्याउ खेती र अनुसन्धानमा जुटेका छन्। यसबीच चिनियाँ प्रविधिका विभिन्न पाँचथरि च्याउको परीक्षण खेती सफल भइसकेको छ। थप १५ थरिको परीक्षण छिट्टै सुरु गर्न गइरहेको उनी बताउँछन्।
'च्याउ क्रान्ति गर्ने दाबीको आधार के त?' भन्ने प्रश्नमा उनी प्राचीन नेवार वस्तीबीच फैलिएको फार्म हाउस डुलाउन थाल्छन् र भन्छन्, 'नेपालको माटो च्याउसुहाउँदो छ। चीनले विकास गरेको खेती प्रविधि पछ्याउने हो भने नेपाली उपभोक्ताले अहिलेको आधा दाममा च्याउ पाउँछन्।'
पाँच वर्षअघि पहिलोचोटि नेपाल टेक्दा उनलाई यहाँ च्याउ धनीमानीले खाने चिज हो भन्ने सुन्दा अचम्म लागेको थियो। 'खेतीको तरिका नमिलेर यस्तो भएको हो, महँगो हुनु पनि कारण हुनसक्छ,' उनी भन्छन्, 'बढी उत्पादन गरेर मूल्य घटाउनसके यो सबैको भान्छामा पुग्छ।'
डेढ केजी काठको भुसको पोकाबाट दुई केजीभन्दा बढी कन्ने च्याउ झिक्छन् उनी। नेपालमा प्रचलित तरिकाअनुसार ६ केजीको पोकामा विषादीसमेत प्रयोग गरी जम्माजम्मी एक-डेढ केजी च्याउ फलाइन्छ। 'लागतका हिसाबले आधै फरक पर्छ,' बाबुको कुरा नेपाली-अंग्रेजी मिसाएर उल्थ्याउँछन् झुइवान।
राजधानीका केही खास ठाउँमा लि परिवारले फलाएको 'चिथोइवु' च्याउ पाइन थालेको छ। यसलाई झुइवानले नेपाली नाम दिएका छन् 'कुखुराखुट्टे', रूप त्यस्तै-त्यस्तै भएर। जातले नेपाली गोब्रे च्याउसँग नजिक यो समान लगानीमा तीन गुना बढी फल्छ।
परीक्षण सम्पन्न गरेका अन्य चिनजेङगु, स्याङगु र मुआर जातका च्याउसँग डिरोङ उस्तै खाले बेलिविस्तार जोड्छन्।
उनले नेपाली च्याउ खेती परम्परामा दुईखाले परिवर्तन ल्याउन खोजेका छन्। 'खेर जाने जुनसुकै वनस्पतिजन्य चिज सुकाएर च्याउ फलाउने पुरिया बनाउन सकिन्छ, धानको भुसै चाहिन्छ भन्ने छैन,' पत्नी झुइरोङ भन्छिन्।
लि परिवार आफ्नो च्याउलाई काँचै खान सकिने दाबी गर्छ, खाएरै देखाउँदै। उनीहरूको चिनियाँ प्रविधिमा मानिसले खाने भिटामिन बि वन र बि टु हालेर च्याउ उत्पादन गरिन्छ। अन्य भिटामिनजन्य पोषणका लागि कपासको चोकर हालिन्छ। किरा लाग्न नदिने उपचारस्वरुप जैविक पद्धतिबाट बनाएको धुप बालिन्छ। 'लामखुट्टे धपाउन तितेपाती बालेजस्तै हो,' लि परिवारै एकसाथ हाँस्छ।
गत वर्ष पहिलो फसल लिएर झुइरोङ आफैं बजार डुल्दा जिज्ञासु क्रेताहरूले घेरिने गर्थिन्। 'मैले सबैका अगाडि मर्याङमर्याङ चपाएर विश्वस्त पार्नुपर्थ्यो,' उनले भनिन्, अनि नेपालीमा थपिन्, 'अहिले त सबै चाइनिज आयो चाइनिज आयो भन्छ ...'
व्यापारमा डुबेर नेपाल आउनेबित्तिकै लि परिवारले ठमेलमा एक वर्ष एउटा गेस्टहाउस चलायो, चिनियाँ पर्यटकलाई लक्ष्य गरेर। 'यहाँ असाध्यै महँगो तरकारी किनेर खुवाउनुपर्दा गाह्रो पर्यो, त्यो पनि राम्रो नपाइने,' डिरोङ भन्छन्, 'त्यतिखेर पढेको कुरा दिमागमा फर्के।'
लगत्तै लि परिवारले हरिसिद्धिमै ४५ रोपनी जग्गा भाडामा लिएर तरकारी खेती सुरु गर्यो। तरकारीमा राम्रो गर्दागर्दै लि परिवार गत वर्षदेखि पूरै च्याउ खेतीमा होमिएको हो। 'म अब यहाँका किसानलाई प्रविधिमा सहयोग गर्न चाहन्छु,' डिरोङ भन्छन्।
यसैअनुरुप लि परिवारले आफ्नो फार्महाउसलाई च्याउ अनुसन्धान र प्रविधि बिक्री केन्द्रका रूपमा विकास गर्ने योजना अगाडि बढाएको छ। 'नेपाली माटो चीनले आफ्ना लागि विकास गरेको प्रविधिनिम्ति अझ उपयुक्त पाएको छु, खासगरी यहाँको ओसिलो पहाडी क्षेत्र,' उनले भने, 'तर बढ्दो रासायनिक मल र विषादीको प्रयोगले यहाँको माटोमा अम्लीयपन बढ्दै जानु ठूलै चुनौती हो।'
No comments:
Post a Comment