प्रहरी प्रमुख र पत्रकारलाई महेश बस्नेतद्वारा कारबाहीको धम्की
मोरङ, साउन २८ ।
युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले पर्शुराम बस्नेत र युवा संघको विरुद्ध लाग्ने पत्रकार, प्रहरीका हाकिम र विराटनगरवासीलाई समाप्त पार्ने धम्की दिएका छन् । पत्रकार खिलानाथ ढकाल र अदालतमाथि आक्रमण गर्नेमाथि चलाइएको मुद्दा फिर्ता लिन शक्तिप्रदर्शन गर्ने भन्दै विराटनगर आएका बस्नेतले पर्शुरामविरुद्व समाचार लेख्ने सबैको लिष्ट युवासंघले राखेको भन्दै कसैलाई पनि नछाड्ने बताए । जनआन्दोलन चौकमा शनिबार युवा संघले आयोजना गरेको सभामा अध्यक्ष बस्नेतले युवा संघको विरुद्ध आउनेलाई आज नभए भोली, पर्सी, तीन महिना नभए ६ महिनामा भए पनि हिसाबकिताब लिने धम्की दिए । भाषणभरी पत्रकार, प्रहरी र विराटनगरवासीलाई धम्की र चेतावनी दिएका बस्नेतले युवा संघ डनहरुको संगठन भएकोले सचेत रहन चुनौतीसमेत दिएका छन् ।
युवा संघको विरुद्ध लाग्ने पत्रकार, प्रहरीका हाकिम र विराटनगरवासीलाई समाप्त पार्छौं- महेश बस्नेत
झिंगाहरुले पाखुरा सुर्कदा केही नहुने- मोरङ प्रहरी प्रमुख प्रद्युम्न कार्की
युवा संघले चाह्यो भने देशमा भाँडभैलो गर्नसक्ने बताउँदै बस्नेतले युवासंघ देशभरीका डनहरुको डरलाग्दो संगठन भएको बताए । पर्शुरामविरुद्व लाग्नेको हिसाब लिन दह्रो ढंगले मैदानमा आउने बताउँदै उनले युवा संघ सडकमा आएपछि सबै विरोधीहरु समाप्त हुने चेतावनी दिए । अदालत र पत्रकार घटनाको मुद्दा पर्शुराम, मुकेश बुढाथोकी, रोहित कोइराला लगायतको मुद्दा युवा संघ र एमालेको मुद्दा भएको भन्दै उनले आफ्ना कार्यकर्तालाई झुट्टा मुद्दा लगाउनेलाई सडक कारबाही गर्ने उनले धम्की दिए । ‘अहिले कानुन निरीह छ, त्यसैले आफूहरुका विरोधीलाई सडक कारबाही गछौं’ उनले भने-’कुनामा बसेर युवासंघमाथि आक्रमणको योजना बनाउनेहरुको हालखुट्टा भाँचिदिन्छौं’ । पहिले पनि पर्शुराम बस्नेत आफूसँग रहेको, अहिले पनि आफूसँगै रहेको बताउादै उनले उनलाई पक्रेर देखाउन प्रहरीले फेरि चुनौती दिए ।
आईजिपी, गृहसचिव र माओवादी नेताको दबाबमा मोरङका प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले आफ्ना कार्यकर्तालाई फसाएको दाबी गर्दै बस्नेतले युवा संघसाग निहुँ नखोज्न एसपी कार्कीलाई चेतावनी दिएका छन् । प्रहरीका हाकिम, तिनीहरुका परिवार, श्रीमति र छोराछोरी कहाँ-कहाँ बस्छन् भन्ने जानकारी आफूहरुलाई जानकारी रहेको बताउादै उनले तुजुक नदेखाउन भने ।
विराटनगर आउने एसपीहरु भ्रष्ट रहेको बताउँदै बस्नेतले प्रहरीले युवा संघलाई जस्तो व्यवहार गर्छ, आफूहरुले पनि प्रहरीलाई त्यस्तै व्यवहार गर्ने धम्की दिए । युवा संघका कार्यकर्ताहरुलाई झुट्टा मुद्दा लगाउने र फसाउने प्रहरीलाई कस्तो व्यबहार गर्नुपर्छ भन्ने आफूहलाई थाहा भएको उनले बताए । प्रहरी उपरीक्षक कार्कीले आफूहरुसाग केस सामान्य हो भन्दै लुते कुरा गर्ने तर बाहिर भने ठूला कुरा गर्ने गरेको उनले दावी गरे ।
पर्शुरामको मुद्दा खारेज नगरे जस्तोसुकै मूल्य चुकाउन पछि नपर्ने बताउँदै बस्नेतले आफूहरुसँग खुकुरी, लाठी र हतियार पनि रहेको जानकारी दिँदै मैदानमा उत्रेर आक्रमण गर्नुपरे सबैलाई ध्वस्त पारिदिने बताए । पर्शुरामको विरुद्ध लाग्ने विराटनगरका सबै व्यक्ति, संस्था र एमालेकै केही नेताहरुको लिष्ट आफूहरुले संकलन गरेको बताउँदै उनले ती सबैको विरुद्ध मैदानमा उत्रिएको बताए ।
पत्रकार ढकालमाथि आक्रमण भएपछि आफूले बोल्दा परिस्थिति बिगि्रएपछि एमाले नेताहरुले चुप रहन आग्रह गरेकोले आफूले सहेर बसेको बताउँदै बस्नेतले पत्रकारले पार्टीकै विरुद्वमा लेख्न थालेपछि सहन नसकेको बताए । तर अब अति भएपछि आफू पनि मैदानमा आएको बताए । आफूहरुले चाहे अनुसारको संविधान बनेपछि पर्शुराम र युवा संघको विरुद्ध समाचार लेख्ने नागरिक दैनिकलाई बन्द गर्ने चेतावनी दिँदै बस्नेतले सम्पादक नारायण वाग्लेलाई जेल हाल्ने बताए । पर्शुराम र युवासंघविरुद्व लेखेको हिसाबकिताब नागरिकसँग लिने उनले बताए । पर्शुराम बस्नेतको अगुवाईमा गत जेठ २२ गते आक्रमणमा परेका पत्रकार खिलानाथ ढकाल र पत्रकार महासंघ मोरङका अध्यक्ष विक्रम निरौलालाई उनले पटक-पटक नाम लिएर धम्की दिएका थिए ।
पत्रकार ढकालमाथि भएको आक्रमणको घटना अदालतमा विचाराधिन रहेको बेला त्यसलाई प्रभावित गर्न र जेठ १८ गते जिल्ला अदालत मोरङमा युवा संघका कार्यकर्ताहरुले गरेको आक्रमणको घटनाको मुद्दा नचलाउन मोरङमा युवा संघले दुई दिन बन्द गरेको थियो । एमाले मोरङ अध्यक्ष विनोद ढकालको अगुवाईमा मंगलबार हडताल फिर्ता भएपछि उसले शक्ति प्रदर्शन गर्ने घोषण गरेको थियो ।
शक्ति प्रदर्शन भनिएको सभामा करिब ४ सय एमाले कार्यकर्ताहरु जम्मा भएका थिए । एमाले मोरङको जेठ २९ गते बसेको सचिबालय बैठकले पत्रकार र अदालत आक्रमणमा संलग्नलाई कानुनी कार्वाहीमा सहयोग गर्ने भनी गरेको निर्णय बिरुद्ध ओली समुहमा रहेका एमाले मोरङका अध्यक्ष विनोद ढकालको अगुवाईमा अभियुक्तहरुलाई बचाउने प्रयत्न भइरहेको छ । मोरङ प्रहरीका प्रमुख प्रद्युम्न कार्कीले भने झिंगाहरुले पाखुरा सुर्कदा केही नहुने स्पष्ट पार्दै अपराधीहरुलाई कानुन अनुसार कार्वाही गर्नबाट कसैले पनि रोक्न नसक्ने बताए ।
No comments:
Post a Comment