जनतालाई निराश हुन दिने छैन्- प्रचण्ड
मैले गिरिजाबाबु हुँदा पनि भनेको र अहिले साथीहरुलाई भन्छु, परिवर्तनको प्रक्रियालाई संस्थागत गर्ने र नेपाल राष्ट्रको स्वतन्त्रता र स्वाधिनतालाई सुदृढ गर्ने कुरासँग नेपालको शान्ति प्रक्रिया अभिन्न रुपले जोडिएको छ । हामीले शान्ति प्रक्रियालाई अमुर्त र निरपेक्ष ढंगले बुझ्न थाल्यौ भने हामीले यथार्थमा शान्ति प्रक्रियालाई दिगो रुपमा निश्कर्षमा पुर्याउन कठीन र थप चुनौतिपुर्ण हुन जान्छ । बिद्वेष, भेदभाव र अपमानबाट मुक्ति भएपछि मात्रै दिगो शान्ति हुन सक्छ भन्ने मान्यताबाट हामी प्रेरित छौं । बाह्र बुँदे समझदारी, बिस्तृत शान्ति सम्झौता र अन्तरीम सम्झौता पनि यो विभेदको अन्त्य गरेर परिवर्तनलाई संस्थागत गर्ने कुरासंग नेपालको जारी शान्ति प्रक्रियालाई एउटा निश्कर्षमा पुर्याउने परिकल्पना गरिएको छ ।
यतिवेला, एकथरीले शान्ति प्रक्रियालाई परिर्वतनको प्रवाहलाई संस्थागत गर्ने कुराबाट अलग्याउने र अर्कोले परिवर्तनको कुरालाई शान्ति प्रक्रियाबाट अलग्याउने गरेका छन् । यी दुई वटा अतिवादी सोचहरु रहेका छन् । कसैले निरपेक्ष शान्ति प्रक्रियाको कुरा गर्छ त कसैले निरपेक्ष परिवर्तनको कुरामात्र गर्दछ । त्यसो गरेर हामीले आजको नेपालको यथार्थ, हाम्रो धरातल र नेपाली जनताको यतिबेलाको सामाजिक/राजनीतिक चेतनालाई सम्बोधन गर्न सक्दैनौं । यसबाट नेपाली जनताको अहिलेको उन्मुक्तिको भावनालाई हामीले ठीक ढंगले सम्बोधन गर्न सक्दैनौं । यो दुईटाको अन्तर सम्बन्धलाई ठीक ढंगले परिचालन गरेर मात्रै हामीले दुईटै कुरा, शान्ति प्रक्रिया र परिवर्तनलाई निश्कर्षमा पुर्याउन सक्छौं ।
यतिवेला सबैको ध्यान ति दुई कुराको अन्तर सम्बन्धमा आकषिर्त र केन्द्रीत गर्न चाहान्छु । पछिल्लो चरणमा हामी कति अघि बढ्यौं या बढेनौं भन्ने आ आफ्नै भनाई होला तर पनि हामी सबैले यो स्वीकाछौ कि हामीले युगान्तकारी राजनीतिक परिवर्तन चाहिँ गर्यौं । ठूल्ठूला उपलब्धीहरु हासिल गरिए । नेपाली समाज परिवर्तनको एउटा प्रवाहमा एउटा चरणसम्म अगाडि बढ्यो । नेपालमा संघीयता, धर्म निरपेक्षता, समाजिक न्याय यी सबै कुराहरु जसरी संस्थागत भए र कार्यान्वयन हुने प्रक्रियामा अगाडि बढे यि सबै हाम्रालागि गर्वको विषय बने ।
हामीले यति ठूलो राजनीतिक परिवर्तन गर्दा गर्दै पनि परिवर्तन बिरोधी शक्तिहरु र शान्ति बिरोधी शक्तिहरु पनि नेपालमा छन् । यिनीहरुले कुनै न कुनै रुपमा शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रिया असफल होस् भनेर विभिन्न नकारात्मक गतिविधी गरिरहेकै छन् । हामी बाह्र बुँदे समझदारी गरेर बिस्तृत शान्ति सम्झौता हुँदै संविधान सभाको निर्वाचनसम्म आई पुग्दा हरेक पटक यो कुरा गथ्यौ । प्रतिगमनकारी, निरंकुशतावादी, सामन्ती तत्वहरु राजनीतिक दलहरुको बीचको विभेदलाई चर्काएर फाईदा उठाउन खोज्ने प्रवृति नेपालमा विद्यमान छ । त्यस्तो प्रतिगामी शक्ति प्रति सतर्क हुनुपर्छ भनेर हामी बारम्बार भन्ने गथ्र्यौं ।
अहिले शान्ति प्रक्रिया जसरी अगाडि बढ्नु पर्ने हो बढेको छैन । संविधान निर्माणको प्रक्रिया जसरी अगाडि जानु पर्ने हो त्यसरी अगाडि गएको छैन । त्यसकारण यो शान्ति, संविधान निर्माण र परिवर्तनको प्रक्रियालाई राम्रो नमान्ने तत्वहरु कहिँ न कहिँ यो अवस्थाबाट फाईदा उठाएर इतिहासको चक्कालाई पछाडि धकेल्ने कोशिस गरीरहेका छन् । उनीहरुले आशा मात्रै गरेका छैनन् त्यो आशालाई साकार पार्नका निम्ती षड्यन्त्रहरु पनि गरेका थिए ।
म संविधान सभाको सबैभन्दा ठूलो पार्टीको अध्यक्षको हैसियतले यसबीचमा शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रिया अगाडि बढाउन जोडबल गर्दा मैले जे जस्ता समस्या र अप्ठ्याराहरुको सामाना गरे त्यसको अनुभवबाट नै मैले त्यो कुरा महसुस गरेको हु । शान्ति र संविधान निर्माण प्रक्रियालाई निश्कर्षमा पुर्याउन बिशेष पहल लिन खोज्दा नै विभिन्न क्षेत्र र कोणबाट त्यसमा ब्यबधानको मैले महसुस गरेको छु ।
म यहाँहरु सबैलाई अहिले बिस्तृत ब्याख्या भन्दा पनि एउटा अनुभूतिको तहमा जानकारी गराउन चाहान्छु । एकीकृत नेकपा माओवादीले शान्ति र संविधानलाई निश्कर्षमा पुर्याउनको निम्ती संविधान सभाको ठूलो पार्टी र शान्ति प्रक्रियाको मूल पक्ष हुनुको हैसियतले शान्ति प्रक्रियालाई सफलतामा टुङ्ग्याउनु पर्छ भनेर केन्द्रीय समितिले निर्णय गर्यो । यो जेठ १४ भन्दा डेढ दुई महिना अघि नै हामीलेको त्यो निर्णय गरेका हौं ।
अब माओवादीले शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्याउन आफ्नो ऐतिहासिक दायित्व अझ दृढतापुर्वक पुरा गर्नु पर्दछ भनेर हामीले सो निर्णय गर्यौं । त्यसैगरी संविधान सभाको एजेन्डाको प्रमुखबाहकको नाताले माओवादी पार्टीले संविधान सभाबाट संविधान बनाउने कुरालाई पनि जनताका भावना र आकांक्षालाई प्रतिनिधित्व र सम्बोधन गर्ने गरी संविधान बनाउने कुरामा पनि अब कुनै हिचकिचाहट राख्नु हुँदैन र दृढतापुर्वक अगाडि लैजानु पर्दछ भनेर हामीले पारित गर्यौं ।
यहाँहरुलाई थाह छ- सेना समायोजनको सन्दर्भमा हामीले एक स्टेप अगाडि बढेर हाम्रो पार्टीको स्थायी समितिको बैठकले निर्णय गरेको छ । अब सेना समायोजनमा हामीले धेरै माथापच्चि गरिसकेका छौं । भदौ १४ अघि हामी कहाँ पुग्न सक्छौं, त्याहाँसम्म पुग्नको लागि संविधान सभाको ठूलो पार्टीको हैसियतले के भूमिका खेल्न सक्छौं, त्यो भूमिका खेल्नु पर्दछ भनेर हामीले कार्य योजना पारित गरेका छौं । म यहाँहरु सबैलाई के बिश्वास दिलाउन चाहान्छु भने तपाईहरुका इच्छा आकांक्षाहरु र आम नेपाली जनताका इच्छा आकांक्षाहरुलाई कुनै पनि हालतमा म निराश हुन दिनेछैन ।
मेरो ठाउँबाट म अन्तिम समयसम्म लडिरहने छु । मेरो दिमाग र हाम्रो पार्टीको निर्णयमा पनि अब यो प्रक्रियालाई टुङ्ग्याउनुको विकल्प छैन । यसलाई जति लम्ब्यायो त्यो पार्टी, देश र जनताकालागि घातक छ भन्ने बिश्वास मलाई भएको छ । तर सम्पुर्ण जिम्मा माओवादीको मात्रै हो र प्रचण्डको मात्रै हो भनियो भने त्यो बस्तुसंगत र न्यासंगत हुँदैन र त्यसले फेरी एउटा निश्कर्षमा पुग्न सहज वातावरण पनि बनाउँदैन । ठूलो पार्टीको हैसियतले र शान्ति प्रक्रियाको प्रमुख पक्षको हैसियतले हामी आफ्नो भागको जिम्मेबारी भने अवश्य लिनेछौ । (नेपाली काँग्रेस मोरङ-काठमाडौं सम्पर्क समितिको आयोजनामा भएको शान्ति प्रकृयाका चुनौती र गिरिजाप्रसाद कोइराला विषय अन्तरक्रियामा माओवादी अध्यक्षको सम्बोधन ।)
No comments:
Post a Comment